सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाउनुहुँदै नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ ।

हेटौँडाः नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश समितिले बागमती प्रदेशको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाएको छ । नवनियुक्त मन्त्री श्रेष्ठलाई शुक्रबार मन्त्रालयमै पुगेर ज्ञापनपत्र बुझाउँदै संगठनले विद्यार्थी खाजाका लागि प्रतिविद्यार्थी १५ रुपैयाँबाट ५० रुपैयाँ पु¥याई विद्यालय तहका सबै विद्यार्थीलाई खाजाको व्यवस्था गर्न माग गरिएको छ ।

संगठनका प्रदेश अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बुझाउनुभएको १३ बुँदे ध्यानाकर्षणपत्रमा बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुलाई श्रम कानुनले तोके बमोजिमको न्यूनतम् पारिश्रमिक उपलब्ध गराउन, हालै सर्वोच्च अदालतको परमादेश बमोजिम शिक्षकको तलब पनि समायोजन गर्न, ट्रेड युनियन अधिकार बमोजिम शिक्षकका क्रियाकलापलाई दलगत गतिविधिको रुपमा अपव्याख्या गरी शिक्षकलाई तर्साउने काम बन्द गर्न पनि माग गरिएको छ ।

एसईईको नतीजाको मात्रै विश्लेषण नगरी कक्षा ३, ५, ८ र १२ को वार्षिक परीक्षाको नतीजाको पनि व्याख्या र विश्लेषण गरी सरोकारवाला सबै पक्षलाई जिम्मेवार बनाउन, शिक्षकलाई मात्रै दोष नदिन, ऐनविपरित शिक्षकको सरुवा, कारवाही लगायतका गतिविधि बन्द गर्न, शिक्षक र विद्यालय कर्मचारीका लागि स्थानीय तहबाट थप गरिनुपर्ने तलब भत्ता थप गर्न पनि संगठनले माग गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयलाई विद्यालय शिक्षा बारेमा नीति निर्माण गर्दा राष्ट्रिय शिक्षक संगठनको प्रतिनिधित्वलाई सुनिश्चित गर्न, प्रदेशका विद्यालयमा बालमैत्री पूर्वाधार, खेलमैदान, कम्प्युटर, पुस्तकालय तथा ल्याबको उचित प्रबन्ध गर्न, पालिकामा कम्तिमा एउटा नमूना विद्यालय विकास गरी क्रमशः वृद्धि गर्दै लैजान संगठनले माग गरेको छ ।