व्यवसायीले शुक्रबार बिहान बन्द गरेको बजार क्षेत्र ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले राजश्वको दर वृद्धि गरेको विषयमा आन्दोलनरत व्यवसायीले शुक्रबार बजार क्षेत्रका पसल, व्यवसाय बन्द गरेर हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा र उपप्रमुख राजेश बानियाँलाई साँचो हस्तान्तरण गरेका छन् । सांकेतिक रुपमा नमूना साँचो हस्तान्तरण गरेर व्यवसायीले राजश्व वृद्धिको विरोध जनाएका हुन् ।

व्यवसायीले गत सोमबारदेखि सुरु गरेको पहिलो चरणको आन्दोलन समेत समापन भएको जनाएको छ । चरम आर्थिक मन्दी र व्यवसायी चौतर्फी मारमा परेका बेला उपमहानगरपालिकाले एकतर्फीरुपमा राजश्व वृद्धि गरेको भन्दै व्यवसायीले आन्दोलन सुरु गरेका हुन् । व्यवसायीको आन्दोलनसँगै बहुमत नगरसभा सदस्यले विशेष नगरसभाको माग गर्दै उपमहानगरपालिका निवेदन समेत दर्ता गरिसकेको छ भने राजनीतिक दलहरुले पनि व्यवसायीको आन्दोलनलाई समर्थन जनाएका छन् ।

व्यवसायीले उपमहानगरपालिकाले एकतर्फीरुपमा राजश्वको दर बढाएको विषयमा राजनीतिक दल, स्थानीय प्रशासन, प्रदेश सरकारका मन्त्री, मुख्यमन्त्रीसमेतलाई ध्यानाकर्षणपत्र बुझाउँदै आन्दोलनका कार्यक्रम गरेका थिए । यसैबीच आज शुक्रबार दिनको ४ बजे व्यवसायी र उपमहानगरपालिकाबीच वार्ता हुँदैछ । व्यवसायीले आन्दोलन गरेर बहुमत नगरसभा सदस्यले विशेष नगरसभाको माग गरेसँगै उपमहानगरपालिकाले वार्ताका लागि व्यवसायीलाई आव्हान गरेको हो ।

आन्दोलनरत व्यवसायीले वार्ताको बटमलाईन राजश्वको दर साविककै हुनुपर्ने राखेको छ । पहिलो चरणको आन्दोलनको समापन गर्नुहुँदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले उपमहानगरपालिकासँग वार्तामा सहभागी हुँदै गर्दा राजश्वको दर साविककै हुनुपर्ने बटमलाईनमा रहेर छलफल गर्ने र उपमहानगर सहमत नभए दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिने बताउनुभएको छ । व्यवसायीले आज शुक्रबार मध्यान्ह १२ बजेसम्मका लागि बजार बन्दको आव्हान गरेको छ । व्यवसायीको आव्हानसँगै हेटौँडा बजारक्षेत्रका पसल, व्यवसायी बन्द अवस्थामा छन् ।