हेटौँडा उपमहानगरपालिका परिसरमा धर्ना दिँदै व्यवसायीहरु ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले अस्वभाविकरुपमा राजश्वको दरमा वृद्धि गरेको भन्दै आन्दोलित व्यवसायीले भोलि शुक्रबार बिहान आफ्ना पसल, व्यवसाय बन्द गरेर हेटौँडा उपमहानगरपालिकालाई चाबी बुझाउँदैछन् ।

चरम आर्थिक मन्दी, ऋणको साँवा–व्याज भुक्तानीमा परेको चाप, कारोबारमा आएको गिरावटका कारण व्यवसायी पलायन हुन बाध्य भइरहेका बेला स्थानीय सरकारले करको दर र दायरा दुबै बढाउँदै विस्तार गरिएका दायराहरुमा पनि राजश्वको दर चर्को कायम गरिएको, घरभाडाको आधारदर बढाइएको, एकीकृत सम्पत्ति कर, विज्ञापन करमा समेत चरम वृद्धि भएको भन्दै आन्दोलित व्यवसायीले पहिलो चरणको आन्दोलनको अन्तिम दिन भोलि उपमहानगरपालिकालाई चाबी हस्तान्तरण गर्न लागेको हो ।

व्यवसायीले बुधबार र बिहिबार दुईदिन उपमहानगरपालिकामा धर्ना दिँदै करको दर घटाउन माग गर्दै आएका छन् । व्यवसायीको आन्दोलनप्रति चौतर्फी समर्थन भइरहेको र नगर सभाका बहुमत सदस्यले विशेष नगरसभा बोलाउन माग गरेपछि हेटौँडा उपमहानगरपालिकाले वार्ताको पहल गरेको छ । हेटौँडा उपमहानगरपालिकाले बुधबार मकवानपुर उद्योग वाणिज्य संघलाई सम्बोधन गर्दै शुक्रबार बिहान ८ बजेका लागि वार्ताको आव्हान गरेको छ । उपमहानगरपालिकाको प्रस्तावमा व्यवसायीले आन्दोलनका कार्यक्रम नसकी वार्ता नबस्ने जनाएपछि वार्ता शुक्रबार दिउँसो २ बजेका लागि तय भएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले जानकारी दिनुभएको छ ।

उपमहानगरपालिकासँगको वार्तामा व्यवसायीको तर्फबाट साविककै दरमा उपमहानगरले राजश्व उठाउनुपर्ने बटमलाईन रहने संघका अध्यक्ष गुप्ताले जानकारी दिनुभएको छ । बिहिबार दिउँसो मकवानपुर उद्योग वाणिज्य संघमा आन्दोलनरत व्यवसायीको बैठकले जारी आन्दोलनको समीक्षा गर्दै पहिलो चरणअन्तर्गत पाँचौं तथा अन्तिम दिनको आन्दोलनको तयारीका विषयमा छलफल भएको अध्यक्ष गुप्ताले जानकारी दिनुभएको छ । “शुक्रबार बिहान व्यवसायीले आफ्ना पसल, व्यवसाय बन्द गरेर चाबी उपमहानगरपालिकालाई बुझाएर धर्ना दिएपछि दिउँसो मात्रै वार्ता बस्ने कुरा भएको छ”, अध्यक्ष गुप्ताले भन्नुभयो, “नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रवक्तासँग सामूहिक रुपमा वार्तामा बस्छौं । वार्तामा हाम्रो बटमलाईन भनेको चरम मारको वर्तमान समयमा करको दर साविककै कायम गर्नुपर्ने रहनेछ ।”

बिहिबारको बैठकले विशेष नगरसभा बोलाउन बहुमत नगरसभा सदस्यले नगरप्रमुख समक्ष माग गरेको विषयमा अनौपचारिकरुपमा स्वागत गर्दै धन्यवाद दिने निर्णय भएको अध्यक्ष गुप्ताले बताउनुभयो । साथै शुक्रबार अन्य राजनीतिक दलहरुको तर्फबाट समेत ऐक्यवद्धता र समर्थन जनाइएको प्रति पनि बैठकले धन्यवाद एवम् आभार व्यक्त गरेको अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।