पत्रकार सम्मेलनको क्रममा खिचीएको तस्वीर ।

हेटौंडाः तेस्रो संस्करणको रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आगामी भदौ २४ गतेबाट सुरु हुने भएको छ । रोटरी क्लब मकवानपुरको आयोजना, पिप्ले युवा क्लबको सहआयोजना तथा हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा भदौ २४ गतेबाट ३१ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

बुधबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै रोटरी क्लब अफ मकवानपुर वर्ष २०२४/०२५ का अध्यक्ष अनिल अग्रवालले आठ वर्षको अन्तरालमा खेलकुदमा पनि रोटरी भन्ने अन्तर्राष्ट्रिय नारालाई सार्थक बनाउँदै रोटरी क्लबको जलन प्राथमिक उपचार निर्माण अभियानलाई सहयोग जुटाउने उद्देश्यले आर्थिक संकलनका लागि प्रतियोगिता अयोजना गर्न लागेको बताउनुभएको हो । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगितामा रोट्रयाक्ट क्लब अफ मकवानपुरको सहकार्य रहनेछ ।

प्रतियोगितामा हेटौंडा भेट्रान्स क्लब, सिमरा भेट्रान्स क्लब, वीरगञ्ज भेट्रान्स क्लब, निजगढ भेट्रान्स क्लब, पूर्वेली भेट्रान्स क्लब, काठमाडौंको फ्रिडम फाइटर भेट्रान्स क्लब, नवलपरासी जिल्लाको अभिषेक चर्च भेट्रान्स क्लब, हेटौंडाकै रोटरी पिप्ले भेट्रान्स क्लब, जीतपुर सिमरा उपमहानगरपालिकाको नवजागृति भेट्रान्स क्लब, पर्सा जिल्लाको युनिटी भेट्रान्स क्लब, सर्लाही जिल्लाको हरिवन भेट्रान्स क्लब, काठमाडौंको सानोगौचरण नाइटकिङ भेट्रान्स क्लब, चितवन जिल्लाको चितवन भेट्रान्स क्लब र पोखरा महानगरपालिकाको पोखरा भेट्रान्स क्लब गरी करिब १५ क्लबहरुको सहभागिता रहनेछ ।

प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख २ हजार २ सय २२ रुपैयाँ र उपविजेता टिमले एक लाख एक हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोकृष्ट प्रशिक्षकले १० हजार रुपैयाँ, सर्वोकृष्ट खेलाडीले ५ हजार रुपैयाँ, सर्वोकृष्ट गोलरक्षक, डिफेन्स, मिडफिडर र फरर्वाडले ५–५ हजार रुपैयाँ नगद राशि प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि करिब १८ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

पहिलो र दोस्रो संस्करणको प्रतियोगिताको प्रथम पुरस्कार एक लाख रुपैयाँ र द्वितीय पुरस्कार ७५ हजार रुपैयाँ रहेकोमा यस वर्षबाट पुरस्कारको रकम बढाइएको हो । वि.स. २०७२ सालको पहिलो संस्करण र २०७३ सालको प्रतियोगिताको उपाधि चितवन भेट्रान्सले जितेको थियो ।

पत्रकार सम्मेलनम खेल संयोजक मोहन ढकाल र रोट्रयाक्ट क्लब अफ मकवानपुरकी अध्यक्ष सृजना लामिछानेको उपस्थिति रहेको थियो ।