हेटौँडाः हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले हेटौँडा उपमहानगरपालिकाले राजश्व वृद्धि गर्ने विषयलाई गम्भीरताका साथ नलिएकोले अहिले विवाद देखिएको बताउनुभएको छ । अहिलेको परिस्थिति र सरोकारवालासँग पर्याप्त छलफल नगर्नाले व्यवसायी आन्दोलित हुनुपरेको उल्लेख गर्नुहुँदै पालिकाबाट राजश्व वृद्धि गर्ने प्रक्रियामा कमजोरी भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले स्वीकार्नुभएको हो ।
राजश्व वृद्धि गर्ने प्रक्रियाका विभिन्न चरणमा भएका निर्णयको प्रतिलिपि माग गर्दै प्रमुख प्रशासकीय अधिकृत गौतमलाई भेट्न पुगेका मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारीसँगको छलफलमा उहाँले राजश्वको दर बढाउने विषयलाई गम्भीरताका साथ लिएर आवश्यक परामर्श र छलफल भएको भए यस्तो समस्या नहुने दावी गर्नुभयो । साउन ६ गतेबाट नयाँ राजश्व दरअनुसार राजश्व संकलनको कार्य सुरु भइसकेकोले पछाडि फर्कन कठिन भएको, पछाडि फर्किँदा जेल जानुपर्ने अवस्था आउन सक्ने गौतमले बताउनुभएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा आइतबार संघको एक टोली प्रमुख प्रशासकीय अधिकृत गौतमलाई भेटेर राजश्वको दर वृद्धि गर्ने प्रक्रियाअन्तर्गत विभिन्न चरणका निर्णयको प्रतिलिपि माग गर्न पुगेका थिए । मकवानपुर उद्योग वाणिज्य संघको टोली प्रमुख प्रशासकीय अधिकृतलाई भेटेर निर्णयको प्रतिलिपि माग गरेपछि कार्यसमिति बैठक बस्दैछ । कानुनी उपचारको बाटोसँमगै संघले आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।