आन्दोलनको खाका तय गर्न बैठकमा सहभागी व्यवसायीहरु ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको करवृद्धि विरुद्ध व्यवसायीले भोलि आइतबार आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । निर्माण व्यवसायी संघ मकवानपुरको शनिबार बसेको कार्यसमिति बैठकले मकवानपुर उद्योग वाणिज्य संघसँग संयुक्तरुपमा आन्दोलनका कार्यक्रम अगाडि बढाउने निर्णय भएको महासचिव राजेन्द्रप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

निर्माण व्यवसायी संघले भोलि आइतबार पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएको छ । निर्माण व्यवसायीले हेटौँडा उपमहानगरपालिकाले वृद्धि गरेको करको दर खारेज गर्न माग गर्दै कर अवज्ञा गर्ने, उपमहानगरपालिका विरुद्धको आन्दोलनमा सबैलाई सक्रियताका साथ सहभागी हुन माइकिङ गर्ने, उपमहानगरापलिकामा धर्ना दिने, कोण सभा गर्नेलगायतका कार्यक्रमको खाका तय गरिएको महासचिव चौलागाईले जानकारी दिनुभयो ।

व्यवसायी चरम समस्यामा परेका बेला हेटौँडा उपमहानगरपालिकाले करको दरमा अस्वभाविक वृद्धि गरेको भन्दै व्यवसायी आन्दोलनको तयारीमा जुटेका हुन् । यसअघि व्यवसायीले नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण गराएका थिए । व्यवसायीले ध्यानाकर्षण गराउँदा कार्यपालिका बैठकबाट सम्बोधन गर्ने आश्वासन उपमहानगरपालिकाबाट पाएको थियो । तर, शुक्रबारको कार्यपालिका बैठकमा कार्यसूचिमा भए पनि व्यवसायीको मागलाई सम्बोधन गर्नुपर्ने बुँदामा कार्यपालिका बैठक मौन देखिएपछि व्यवसायीले आन्दोलन घोषणा गर्न लागेका हुन् ।