कार्यशाला उद्घाटन कार्यक्रममा सहभागी विद्यार्थीहरु ।

हेटौँडाः अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा हेटौँडा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले युवाका लागि सीप विकास, वित्तीय साक्षरता, करियर परामर्श र उद्यमशीलता सम्बन्धी एक दिवसीय कार्यशालाको आयोजना गरेको छ । शनिबार आयोजना गरिएको कार्यशालामा कक्षा ११ र १२ तथा स्नातक तहमा अध्ययनरत हेटौँडा नगरका विभिन्न शैक्षिक संस्थाबाट २ सय २५ जना विद्यार्थीको सहभागिता रहेको थियो । कार्यशालाको उद्घाटन कार्यक्रम संघीय सरकारका मुख्य सचेतक महेशकुमार बर्तौलाको प्रमुख आतिथ्य तथा स्ववियु अध्यक्ष अभि मैनालीको अध्यक्षतामा भएको हो ।

कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै संघीय सरकारका मुख्य सचेतक महेशकुमार बर्तौलाले युवाले देशको बारेमा सोँच्नु पर्ने बताउनुभयो । युवा पुस्ताले आफ्नो क्षमता विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुहुँदै मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बर्तौलाले कानुन निर्माणका लागि आवश्यक सुझाव दिन कार्यशालामा सहभागी युवालाई आग्रह समेत गर्नुभयो । उहाँले युवाका आवश्यकता र अपेक्षा अनुरुप कानुन निर्माण गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

युवाले आफ्नो व्यक्तिगत जीवनका लागि मात्रै नभएर समाज र मुलुकका लागि सक्रिय हुनुपर्ने धारणा राख्नुहुँदै बर्तौलाले युवालाई सहजीकरण गर्न आफू तयार रहेको बताउनुभयो । वर्तमान सरकारले युवालाई रोजगारी र अवसर प्रदान गर्ने अठोट लिएको उल्लेख गर्नुहुँदै उहाँले युवाले देश छाड्नुपर्ने अवस्था नहोस् भनेर सरकारले काम गरिरहेको दावी गर्नुभयो । युवा जागरुक हुनु पर्ने उहाँको भनाइ थियो ।

कार्यशालामा सुरेश श्रेष्ठ, दीपक सुवेदी, छवि अनित्य, विवश जंग थापा, आयुष डोटेल, श्याम कुमार कुशवाह, सविना खातुन, प्रकाश चापागाई र श्याम दाहालले सहजीकरण गर्नुभएको थियो । हेटौँडा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष अभि मैनालीले विद्यार्थी साथीहरुको व्यक्तित्व विकासका लागि निरन्तर क्रियाकलाप गरिने जानकारी दिनुभएको छ ।