हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जनश्रमदानबाटै सडकको स्ल्याब ढलान भएको छ । गाउँपालिकाका अध्यक्ष सर्केश घलानको पहलमा बिहीबार र शुक्रबार दुई दिन श्रमदान गरी उक्त सडकको स्ल्याब ढलान सम्पन्न भएको हो ।
गाउँपालिका कार्यालयको गेट अगाडि अधुरो रहेकोे करिब १४ मिटर लम्बाइको सडकको स्ल्याब ढलान भएको छ । स्ल्याब ढलानका लागि गाउँपालिका अध्यक्ष, पालिकाका कर्मचारी र स्थानीय गरी ३० जनाले जनश्रमदान गरेको गाउँपालिका अध्यक्ष घलानका स्वकीय सचिव मनोज बलले जानकारी दिनुभयो ।
जनश्रमदानबाट स्ल्याब ढलान भएको सडकको लम्बाइ १३.८५ मिटर, चौडाइ ११.०५ मिटर र उचाइ ०.१३ मिटर रहेको गाउँपालिकाका प्राविधिक सब इन्जिनियर राजेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । २ लाख २३ हजार तीन सय आठ रुपैयाँ प्राविधिक लागत अनुमान गरिएको उक्त सडकको स्ल्याब ढलानको काममा ९१ हजार ७ सय आठ रुपैयाँ बराबरको जनश्रमदान भएको सब इन्जिनियर बोहराले बताउनुभयो ।
स्ल्याब ढलानका लागि सञ्जय निर्माण सेवा प्रालिले २० बोरा, शिवालय विल्डर्सले १५ बोरा, नेहारिका विल्डर्स प्रालिले २ बोरा सिमेन्ट सहयोग गरेको थियो भने गाउँपालिकाबाट सिमेन्ट १५ बोरा, गिट्टी १३ घनमिटर, बालुवा ८ घनमिटर निर्माण सामग्री लागेको जनाएको छ । पालिकाको आफ्नै मेसिन, औजार उपयोग गरी सडकको स्ल्याब ढलान गरिएको हो ।