हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु गरेको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लम्पी स्किन रोगको संक्रमण हुन नदिन साउन २५ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी खोप अभियान सुरु गरेको हो ।

शुक्रबार एक समारोहका बिच मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित एक गाई फार्ममा प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले पशु स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गर्नुभएको हो । अभियानअन्तर्गत प्रदेशका १३ जिल्लाका ७६ हजार २ सय ७५ गाईभैंसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउने लक्ष्य मन्त्रालयको रहेको छ ।

खोप अभियान कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले गाईभैंसीमा लम्पी स्किन रोग लाग्न नदिन पूर्वतयारी स्वरुप प्रदेशका सबै स्थानीय तहमा प्रभावकारिताका साथ खोप अभियान सञ्चालन गरिने बताउनुभयो । नागरिकहरुलाई सरकारको अनुभूूति दिलाउने र आर्थिकरुपले सक्षम बनाउने पहल स्वरुप प्रदेश सरकारले अभियान अघि बढाएको उहाँले बताउनुभयो । प्रदेश सरकारले कृषि क्षेत्रको विकासका लागि उत्पादन र बजारीकरणमा प्राथमिकताका साथ योजनाहरु ल्याएको उहाँको भनाइ छ । कृषकहरुको समस्या समाधानमा प्रदेश सरकार सदैव तत्पर रहने उहाँले बताउनुभयो ।

मन्त्रालयका सचिव विनोदकुमार भटट्राईले स्थानीय तहको समन्वयमा पशु सेवा कार्यालयमार्फत् खोप अभियान सञ्चालन भएको बताउनुभयो । कृषकहरुलाई उत्पादनमा सघाउने उद्देश्यअनुसार मन्त्रालयले बजेटमा नै समावेश गरेर खोप अभियानलाई अघि बढाएको उहाँले बताउनुभयो । कृषकहरुको सहायतासँगै आर्थिक उपार्जनमा सघाउन विभिन्न रोग विरुद्धको निःशुल्क खोप उपलब्ध गराउने उहाँको भनाइ छ । लम्पी स्किन रोग नियन्त्रणका लागि प्रदेश सरकारले यस आर्थिक वर्षमा ७३ लाख रुपैयाँ बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।