सामुदायिक वन उपभोक्ता समूहलाई प्रशंसापत्र प्रदान गर्दै ।

हेटौँडाः सामुदायिक वन उपभोक्ता महासंघ नेपाल मकवानपुरले शुक्रबार सामुदायिक वन दिवस २०८१ विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । ‘सामुदायिक वनको प्रभावकारिता तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ महासंघ मकवानपुरले विचार गोष्ठी र प्रशंसा पत्र वितरण गरी दिवस मनाएको हो ।

महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्नुहुँदै जिसस प्रमुख घलानले सरकारले वन क्षेत्रमार्फत जनतालाई आर्थिक क्रियाकलापमा जोड्ने गरी काम गर्नुपर्ने बताउनुभयो । अहिले विभिन्न सामुदायिक काममा वन समुहहरुले लगानी गरिरहेकोमा प्रशंसा गर्नुहुँदै उहाँले जनतालाई आयआर्जनसँग जोड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अहिले वन संरक्षणका लागि वृक्षरोपणका कार्यक्रमहरु धेरै हुने तर संरक्षणमा भने ध्यान नपुगिरहेको उहाँको भनाई छ । उहाँले यसतर्फ पनि ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभयो । उहाँले वनको सदुपयोग गरी काम गरेमा सबैलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै महासंघ मकवानपुरका अध्यक्ष चौलागाईले महासंघले महासंघ र जनताको हितमा काम गर्न खोजिरहेको बताउनुभयो । उहाँले सरकारले वन क्षेत्रलाई उपेक्षा गरिरहेको भन्दै यसको उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

गोष्ठीमा सामुदायिक उपभोक्ता समुहका पदाधिकारीहरुले वन क्षेत्रका लागि सरकारबाट उचित बजेट विनियोजन नहुने गरेको भन्दै गुनासो गरेका छन् । यस्तै डढेला नियन्त्रण जस्ता अन्य विपद्का घटना न्युनीकरणका लागि सरकारबाट योजनाहरु पर्याप्त नआएको, वन समुहका पदाधिकारीहरुको क्षमता अभिवृद्धि जस्ता व्यवस्थित योजना बनाउन र वन व्यवस्थापनका लागि ध्यान नदिइरहेको समूहहरुले गुनासो गरेका छन् । देशको कुल गार्हस्थ उत्पादनमा वन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको र वनलाई पर्यटन र कृषिसँग जोड्नुपर्ने पनि समुहहरुले धारणा प्रस्तुत गरेका थिए । वन व्यवस्थापन गरी वन, वन्यजन्तु र वनस्पति संरक्षण गर्न महासंघ र समुह तयार रहेको उनीहरुको भनाई छ ।

महासंघ मकवानपुरले कार्यक्रमको अवसरमा सञ्चारकर्मी, वन समुह र वन अभियान्ताहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सञ्चारकर्मीतर्फ समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ र साझाकुरा राष्ट्रिय दैनिकका संवाददाता भीमसेन पौडेल रहेका छन् । यस्तै सामुदायिक उपभोक्ता वन समुहतर्फ हेटौँडा–६ स्थित चुच्चेखोला समुह, ५ नम्बर वडास्थित पिप्लेपोखरा वन समुह, १९ नम्बर वडास्थित चनौटा वन समुह, वडा नम्बर ६ स्थित रानीवन समुह, मकवानपुरगढी–५ स्थित बुङदल वन समुह र थाहा नगर स्थानीय महासंघलाई प्रशंसापत्र वितरण गरेको छ । यस्तै वन अभियन्ताको रुपमा बुद्धि प्रसाद पौडेल र बाल कुमारी थापालाई सम्मान गरेको छ । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरी चौलागाई, प्रदेश कोषाध्यक्ष नानीमैया रुम्बा र सदस्य केशव प्रसाद न्यौपाने लगायतको आतिथ्य रहेको थियो ।