कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै नगरप्रमुख मीना कुमारी लामा ।

हेटौँडाः सुनिता फाउण्डेसनले मानव बेचबिखनमा परी प्रभावितहरुको सशक्तीकरणका लागि सञ्चालित परियोजनाको समीक्षा गरेको छ । बिहिबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यका समीक्षा कार्यक्रमको आयोजना गरिएको हो । फाउण्डेशनकी प्रबन्ध निर्देशक सुनिता दनुवारले हाम्रो समृद्धि परियोजनामार्फत मानव बेचबिखन प्रभावितलाई सहयोगको कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

मकवानपुर जिल्लासँगै सुनिता फाउण्डेसनले काठमाडौं, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा पनि हाम्रो समृद्धि परियोजना सञ्चालन गरिरहेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा बेचबिखन प्रभावित ११ जनालाई सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ । आयआर्जनका लागि बाख्रापालन, कुखुरापालनका साथै बालबालिकाका लागि शैक्षिक सहयोगको कार्यक्रम सञ्चालन भइरहेको दनुवारले जानकारी दिनुभएको छ ।