हेटौंडाः बागमती प्रदेशमा आज साउन २५ गतेबाट लम्पी स्कीन रोग विरुद्धको खोप अभियान सुरु हुने भएको छ । प्रदेशका १३ जिल्लाका गाई भैंसीलाई अभियानमार्फत् एक सातासम्म लम्पी स्कीन रोग विरुद्धको खोप लगाइने प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बिहीबार पत्रकार सम्मलेन गर्दै पशुपालन तथा पशुजन्य उत्पादनको क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको गाई÷भैंसीपालन लक्षित गर्दै खोप अभियान सञ्चालन गर्ने तयारी गरेको जानकारी दिएको हो । उक्त अभियानअन्तर्गत प्रदेशका १३ जिल्लाका ७६ हजार २७५ पशुमा खोप लगाउने लक्ष्य मन्त्रालयले राखेको मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार प्रदेशमा करिब १० लाख ११ हजार १३६ गाई र ८ लाख ३२ हजार १९३ भैंसीलाई लम्पी स्कीन रोग लाग्न नदिन मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत नै खोप अभियानलाई अघि बढाएको हो । लम्पी स्कीन रोगबाट गाई भैंसीको मुत्युदर ३.१ प्रतिशत रहे पनि दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने भएकाले कृषकहरुको आर्थिक क्षति न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ । प्रदेशमा वार्षिकरुपमा ४ लाख ५५ हजार १४२ मेट्रिक टन दूध उत्पादन भइरहेको उहाँले बताउनुभयो ।
कृषकहरुको सहायताका लागि संघ, प्रदेश र स्थानीय तहसँगको समन्वयमा लम्पी स्किन रोगको प्रकोप नियन्त्रण गर्न एकै पटक १३ जिल्लामा खोप अभियान सञ्चालनको तयारी गरिएको सचिव भट्टराईले बताउनुभयो ।
३७६ जना भ्याक्सिनेटर नियुक्त
मन्त्रालयले खोप अभियान सञ्चालनका लागि मातहतका पशु सेवा कार्यालयहरुबाट लम्पी स्कीन रोग विरुद्धको ६२ हजार ९७५ डोज खोप लगाउने तयारी गरेको छ । सो खोप लगाउन प्रदेशका १३ जिल्लाका लागि ३७६ जना भ्याक्सिनेटर नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ललितपुरका लागि ८ हजार ३२५ डोज खोप लगाउन ५४ भ्याक्सिनेटर, मकवानपुरका लागि ७ हजार ५ सय डोज खोप लगाउन ६२ भ्याक्सिनेटर र नुवाकोटका लागि ११ हजार डोज खोप लगाउन २५ भ्याक्सिनेटर नियुक्त गरेको छ । यस्तै, धादिङका लागि ६ हजार ९ सय डोज खोप लगाउन ४२ भ्याक्सिनेटर, चितवनका लागि ८ हजार डोज खोप लगाउन १३ भ्याक्सिनेटर र दोलखाका लागि ५ हजार डोज खोप लगाउन २५ भ्याक्सिनेटर रहनेछन् । काभ्रेका लागि ८ हजार डोज खोप लगाउन ९५ भ्याक्सिनेटर र सिन्धुलीका लागि ८ हजार २५० डोज खोप लगाउन ६० भ्याक्सिनेटर सम्बन्धित पशु सेवा कार्यालयबाट नियुक्त गरिएको छ । सो अनुसारको खोप र भ्याक्सिनेटर सम्बन्धित स्थानका खोप केन्द्रहरुमा पु¥याएको मन्त्रालयले जनाएको छ । लक्ष्यअनुसारको खोप अपुग हुने भएकाले केही खोप खरिद गरेर पठाइने मन्त्रालयका सचिव भट्टराईले बताउनुभयो ।
लम्पीबाट ११ हजार बढी गाई भैंसीको मृत्यु
मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा लम्पी स्कीन रोगबाट प्रदेशका १३ जिल्लामा ११ हजार बढी गाई भैंसीको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा ११ हजार २१८ गाई भैंसी लम्पी स्कीन रोगबाट मृत्यु भएको मन्त्रालयको तथ्यांक रहेको छ । रोगबाट प्रदेशमा ३७ हजार ८९ गाई भैंसी संक्रमित भएको र २ लाख ५६ हजार ७५९ पशु प्रभावित भएका छन् । प्रदेशमा २ लाख ४५ हजार २२२ गाई भैंसीलाई लम्पीविरुद्धको खोप लगाइएको छ ।
लम्पी स्कीन रोगबाट काभ्रेमा २ हजार ४१२ गाई भैंसी मरेका थिए भने ८ हजार ५०५ संक्रमित भएका थिए । रोगका कारण ४० हजार १०१ पशु प्रभावित भएको र रोगबाट जोगाउन गत आर्थिक वर्षको असारसम्ममा ५७ हजार ४३३ गाई भैंसीमा लम्पी स्कीन रोग विरुद्धको खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
सिन्धुपाल्चोकमा लम्पीबाट १ हजार ३२८ गाई भैंसी मरेको र ५ हजार ९४७ संक्रमित भएका छन् । रोगबाट २७ हजार ९३५ पशु प्रभावित हुँदा १८ हजार ५५४ गाई भैंसीलाई रोग विरुद्धको खोप लगाइएको छ । दोलखामा १ हजार १० गाई भैंसी लम्पी रोगका कारण मरेका छन् भने ७ हजार २३८ संक्रमिति भएका छन् । दोलखामा लम्पीबाट ३७ हजार ६८८ पशु प्रभावित हुँदा ८ हजार ९३४ गाई भैंसीलाई रोग विरुद्धको खोप प्रदान गरिएको छ ।
सिन्धुलीमा रोगबाट १ हजार ६८९ गाई भैंसी संक्रमित हुँदा ९४९ गाई भैंसी मरेका छन् भने २८ हजार ५५३ पशु प्रभावित भएका छन् । सिन्धुलीमा ५ हजार ४७८ गाई भैंसीलाई रोग विरुद्धको खोप लगाइएको छ ।
मकवानपुरमा रोगबाट १४ हजार ६८९ पशु प्रभावित भएको तथ्यांक रहेको छ भने ६९८ गाई भैंसी संक्रमित भएका छन् । रोगबाट मकवानपुरमा ५०१ गाई भैंसी मरेका छन् भने ३१ हजार ६०६ गाई भैंसीलाई रोग विरुद्धको खोप लगाइएको छ । रामेछापमा रोगबाट ४ हजार ५९१ गाई भैंसी संक्रमित भएको र ९७५ गाई भैंसी मरेका छन् । रोगबाट २६ हजार ३१४ वटा पशु प्रभावित भएको र २३ हजार ९०८ गाई भैंसीलाई रोग विरुद्धको खोप लगाइएको छ ।
चितवनमा रोगबाट ६४० गाई भैंसी संक्रमित हुँदा ४०२ वटा मरेका छन् भने १२ हजार ५२३ पशु प्रभावित भएका छन् । चितवनमा २७ हजार ४१७ गाई भैंसीलाई रोग विरुद्धको खोप लगाइएको छ । धादिङमा रोगबाट १ हजार ५१८ गाई भैंसी संक्रमित हुँदा ९५९ वटा मरेका छन् भने २५ हजार १७२ पशु प्रभावित भएका छन् । धादिङमा १३ हजार १३३ गाई भैंसीलाई लम्पी स्कीन रोग विरुद्धको खोप लगाइएको मन्त्रालयको तथ्यांक रहेको छ ।
नुवाकोटमा रोगबाट १ हजार ३४ गाई भैंसी मरेका छन् भने १ हजार ८८३ संक्रमित भएका मन्त्रालयको तथ्यांक रहेको छ । जसबाट १९ हजार ४४५ पशु प्रभावित भएको र १२ हजार ६ सय गाई भैंसीलाई लम्पी स्कीन रोग विरुद्ध खोप दिइएको छ । रसुवामा रोगबाट १ हजार ७५० गाई भैंसी संक्रमित हुँदा २३६ मरेका छन् । रोगबाट २ हजार ७४० पशु प्रभावित भएको रसुवामा ६ हजार २ सय गाई भैंसीलाई रोग विरुद्धको खोप लगाइएको छ ।
काठमाडौंमा लम्पीबाट ६०५ गाई भैंसी मरेका छन् भने १ हजार २४४ संक्रमित भएका छन् । रोगबाट ९ हजार ८४४ पशु प्रभावित हुँदा १९ हजार १४७ गाई भैंसीलाई रोग विरुद्धको खोप लगाइएको छ । ललितपुरमा लम्पीका कारण २४९ गाई भैंंसी मरेका छन् भने १ हजार २२३ संक्रमित भएका छन् । रोगबाट ४ हजार ६९४ पशु प्रभावित भएको र १४ हजार १६६ गाईं भैंसीलाई रोग विरुद्धको खोप लगाइएको छ । भक्तपुरमा लम्पीबाट ५८८ गाई भैंसी मरेको र २ हजार ३१४ संक्रमित भएका छन् । रोगबाट ७ हजार ६१ पशु प्रभावित हुँदा ६ हजार ५४६ गाई भैंसीलाई खोप लगाइएको छ ।