हेटौँडाः चरम आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाको दवाव, व्यवसायमा शून्यताको अवस्थामा स्थानीय सरकारले राजश्वको दर अस्वभाविकरुपमा वृद्धि गरेको भन्दै आन्दोलनको चेतावनी दिएका व्यवसायीलाई उनीहरुको मागमा केही सम्बोधन गर्ने आश्वासन दिएको हेटौँडा उपमहानगरपालिकाले करको दरलाई कायमै राख्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको कार्यपालिका बैठकले नगरसभाबाट पारित भएको राजश्वको दर कार्यान्वयनमा समेत आइसकेकाले राजश्वको दर कायमै राखेर अगाडि बढ्ने निर्णय भएको एकजना कार्यपालिका सदस्यले जानकारी दिएका छन् ।
करको दर शतप्रतिशतभन्दा बढीले वृद्धि गरिएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ मकवानपुर, सहकारी सञ्जाल मकवानपुरले नगरप्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ र प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलाई ध्यानाकर्षणपत्र बुझाइसकेको छ । नगरसभामा राजश्वको दर परिवर्तन गर्ने विषयमा पर्याप्त छलफल नभएको र अहिले व्यवसायीले आन्दोलनको चेतावनी दिइरहेका बेला व्यवसायीको मागलाई सम्बोधन गर्नुपर्ने भनी कार्यपालिका बैठकमा वडाअध्यक्षहरुले नगरप्रमुख मीना कुमारी लामालाई सुझाव समेत दिएका थिए । नगरप्रमुख लामाले नगर सभाबाट पारित भएर कार्यान्वयनमा आइसकेको करको दरमा पुनरावलोकन गर्न नसकिने भन्नुहुँदै नयाँ करको दर कायमै राख्ने निर्णय गर्नुभएको बताइएको छ ।
कार्यपालिका सदस्य एवम् ४ नम्बर वडाअध्यक्ष नवीन सिग्देलले नगर सभाको समयमा करको दरको विषयमा स्पष्ट छलफल नभएको र व्यवसायीको मागको सम्बोधन गर्नुपर्ने विषयमा नगरप्रमुखलाई जानकारी गराए पनि नगरप्रमुखले नगरसभाबाटै पारित भएर कार्यान्वयनमा आइसकेको करको दर कायमै राखेर जाने निर्णय गर्नुभएको छलफलमा सहभागी एक वडाअध्यक्षले जानकारी दिनुभयो । नगरप्रमुख लामाले मकवानपुर उद्योग वाणिज्य संघले बोलाएको बैठकमा किन गएको भनी वडाअध्यक्षहरुलाई प्रश्न गर्नुभएको छ । नगरप्रमुख लामाको चासोलाई प्रतिवाद गर्दै बैठकमा सहभागी वडाअध्यक्षहरुले नगरवासीकै सहभागिता रहेको मकवानपुर उद्योग वाणिज्य संघले बोलाएको बैठकमा जाने विषय वडाअध्यक्षहरुको व्यक्तिगत विषय भएको बताए ।
नगर उपप्रमुखलाई राजश्वको दरको विषयमा ध्यानाकर्षणपत्र बुझाएको मकवानपुर उद्योग वाणिज्य संघले नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसँग समेत छलफल गरेपछि वडाअध्यक्षहरुलाई पनि आफ्ना मागका विषयमा जानकारी गराउन वडाअध्यक्षहरुसँगको बैठक आव्हान गरेको थियो । बैठकमा नेकपा एमाले सम्वद्ध वडाअध्यक्षहरु मात्रै सहभागी थिए भने नेपाली काँग्रेस सम्वद्ध वडाअध्यक्षहरु अनुपस्थित रहे । शुक्रबार बिहान बसेको कार्यपालिका बैठकमा राजश्वको दर परिवर्तनको विषयमा नेपाली काँग्रेस पार्टी सम्वद्ध वडाअध्यक्षहरुले भने कुनै धारणा नै नराखी चुप बसेका छन् ।
कार्यपालिका बैठकले चुरियामाईको सुरुङ व्यवस्थापन समिति गठन गर्ने, पूर्वकर्मचारी विनोद सुवेदीलाई पुनर्वहाली गर्ने, रोटरी क्लब अफ मकवानपुरले आयोजना गर्ने भेट्रान्स फुटबल प्रतियोगिताका लागि आर्थिक सहयोग गर्ने, कृषि एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि तयार पार्ने निर्णय गरेको छ । यस्तै बालमैत्री वडा सहजकर्ताहरुलाई चाडपर्व खर्च दिने निर्णय समेत गरेको छ ।