ल्यापटप वितरण पश्चात सामुहिक तस्वीर खिचाँउदै ।

हेटौंडाः मकवानपुरगढी गाउँपालिकाले चार जना दलित तथा जनजाति विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ । बुधबार गाउँपालिकाले दलित तथा जनजाति प्रोत्साहन लक्षित कार्यक्रमअन्तर्गत् एसईई र कक्षा ११–१२ मा उत्कृष्ट नतिजा ल्याउने चार जना छात्रालाई ल्यापटप वितरण गरिएको सामाजिक विकास शाखा प्रमुख सूर्यबहादुर गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकाबाट २०७९ सालको एसईई र ११–१२ कक्षामा उत्कृष्ट अङ्क ल्याउने दलित र जनजाति छात्राहरूलाई ल्यापटप वितरण गरिएको हो । एसईई परीक्षामा भानु माध्यमिक विद्यालयबाट जनजातिमा उत्कृष्ट अङ्क ल्याउन सफल खुसी योञ्जन र चण्डिका माध्यमिक विद्यालयबाट दलिततर्फ रश्मिता बिकलाई ल्यापटप वितरण गरिएको छ । यस्तै, कक्षा ११–१२ को परीक्षामा शारदा माविबाट उत्कृष्ट नतिजा ल्याउन सफल जनजाति तीर्थमाया गोले र दलित सन्ध्या विकलाई पनि ल्यापटप वितरण गरिएको गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा दलित तथा जनजाति प्रोत्साहन लक्षित समन्वय समितिका अध्यक्ष एवम् गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत नवीन स्याङ्तान लामा, वडा अध्यक्षहरु, वडा सदस्यहरु एवम् अभिभावकहरूको उपस्थिति रहेको थियो ।