सहयोग रकमको चेक हस्तान्तरण गर्नुहुँदै सांसद दीपक बहादुर सिंह ।

हेटौँडाः मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद एवम् संसदको पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले हेटौँडा सामुदायिक आँखा अस्पताललाई नगद सहयोग गर्नुभएको छ । मंगलबार एक कार्यक्रमका बीच सभापति सिंहले आफ्नो एक वर्षको तलबमा केही रकम थप गरेर अस्पताललाई ९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ हस्तान्तरण गर्नुभएको छ ।

सांसद सिंहले सहयोग रकमको चेक तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डाक्टर सन्दुक रुइत र अस्पतालका संरक्षक एवम् तिलगंगा प्रतिष्ठानका सदस्य सिद्धिलाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले १ वर्षको तलबमा ३ लाख ८७ हजार रुपैयाँ थप गरेर कुल ९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ अस्पताललाई प्रदान गर्नुभएको हो ।

चेक हस्तान्तरण गर्नुहुँदै सभापति सिंहले आफ्नो एउटा लक्ष्य पूरा भएको बताउनुभएको छ । चुनावमा जनतामाझ आफुले वाचाको रुपमा पहिलो वर्षको तलब जनताका लागि हेटौँडा सामुदायिक आँखा अस्पताल मार्फत उपलब्ध गराउने घोषणा पूरा भएको उहाँको भनाई छ । तिलगंगा आँखा अस्पतालले मकवानपुरमा मात्र नभई सबै जिल्लामा सुलभ सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो । उहाँले डाक्टर रुइतको जीवन कथाको सिको गर्नुपर्ने बताउनुभयो । निस्वाथ्र्य भावनाले जनताको सेवामा लाग्नुपर्ने कुरा रुइतबाट सिक्नुपर्ने सांसद सिंहको भनाइ थियो ।

तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. रुइतले सांसद सिंहले सहयोग गर्नुभएको रकमले सीमान्तकृत जनतामा सहयोग पु¥याउने बताउनुभएको छ । उहाँले सांसद सिंहले अग्रगामी भूमिका निर्वाह गरी आफ्नो तलब सेवाका लागि प्रदान गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा हेटौँडा सामुदायिक आँखा अस्पतालका प्रमुख डाक्टर सुनिल थकाली, हेटौँडा उपमहानगरपालिकाका निवर्तमान प्रमुख हरि बहादुर महतको पनि उपस्थिति रहेको थियो ।