हेटौँडाः बागमती प्रदेशमा गत आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न विपद्का घटनामा परी ८८ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा परेर ८८ जनाको मृत्यु भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुुसार आर्थिक वर्ष २०८०/०८१ मा आगलागीका घटना ४९३, वन डढेलो १२२, पहिरो ९०, वन्यजन्तु आक्रमण ४२, भारीवर्षा ३४, बाढी ३३, चट्याङ १४, हावाहुरी १३, उच्च उचाई (लेक लाग्नु) ५, गैरप्राकृतिक विपद् ३, सर्पदंश ३, हिमपहिरो ३ र भूकम्प १ गरी ८६५ वटा घटना भएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार सो अवधिमा प्रदेशको १३ जिल्लामा ८५६ वटा विपद्का घटनाहरुमा परेर ४३ जना वेपत्ता भएका छन् भने १८४ जना घाइते हुनुका भएका छन् । विपद्का कारण उक्त आर्थिक वर्षमा ६१९ वटा पशु चौपायाको क्षति भएको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिनुभएको छ ।

विपद्का घटनाका कारण प्रदेशका १८९ वटा भौतिक पूर्वाधारमा क्षति पुग्नुका घटनाहरुबाट आर्थिक रुपमा ५१ करोड ६७ लाख रुपैयाँको क्षति भएको उहाँले बताउनुभयो । सो अवधिमा वन्यजन्तुको आक्रमणका ४२ वटा घटना भएको र उक्त घटनामा ६ जनाको मृत्यु भएको छ । वन्यजन्तुको आक्रमणबाट ३८ जना घाइते भएका छन् भने ६ वटा पशु चौपायाको क्षति र २१ लाख रुपैयाँको भौतिक पूर्वाधार क्षति भएको छ । हिमपहिरोबाट ३ वटा घटनामा परेर ३ जना घाइते भएका छन् । भूकम्पमा परेर ३५ वटा भौतिक पूर्वाधार क्षति भएको छ भने आगलागीका ४९३ घटनाबाट २४ जनाको मृत्यु, ८७ जना घाइते भएका छन् । सो घटनामा ९७ वटा भौतिक पूर्वाधार, ३९४ वटा पशु चौपाया र ४६ करोड ९५ लाख ४२ हजार रुपैयाँको आर्थिक क्षति भएको छ ।

बाढीका ३३ वटा घटनामा परेर ५ जनाको मृत्यु, २ जना बेपत्ता, २ जना घाइते, ३ वटा भौतिक पूर्वाधार, ५ वटा पशु चौपाया क्षति पुगेको छ भने ७ लाख रुपैयाँको आर्थिक क्षति भएको छ । वन डढेलोका १२२ वटा घटना भएकोमा ४ जनाको मृत्यु, ६ जना घाइते, २५ वटा भौतिक पूर्वाधार, १०७ वटा पशु चौपाया र २ करोड ३९ लाख ८९ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । पहिरोका ९० वटा घटनामा ४२ जनाको मृत्यु, ४१ जना वेपत्ता, २३ जना घाइते, १४ वटा भौतिक पूर्वाधार, ८५ वटा पशु चौपाया र ५८ लाख ३३ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । भारी वर्षाका ३४ वटा घटनाबाट ४ जना घाइते भएका छन् भने ४ वटा भौतिक पूर्वाधार र १ करोड ३७ लाख ७८ हजार रुपैयाँको आर्थिक क्षति भएको छ । ५ वटा लेक लागेका घटनाबाट ६ जना घाइते भएका छन् ।

सर्पदंशको ३ वटा घटनाबाट २ जनाको मृत्यु र एक जना घाइते भएका छन् । चट्याङका १४ वटा घटनामा एक जनाको मृत्यु, १२ जना घाइते, २२ वटा पशु चौपाया र १० लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ । हुरी बतासका १३ वटा घटनाबाट २ जनाको मृत्यु, एक जना घाइते, एउटा भौतिक पूर्वाधार र १६ लाख ७५ हजार रुपैयाँको क्षति भएको छ । अन्य गैरप्राकृतिक प्रकोपका ३ वटा घटनाबाट २ जनाको मृत्यु भएको र एक जना घाइते भएका छन् ।

विपद् व्यवस्थापनमा ६१ लाख ७८ हजार रुपैयाँ खर्च
बागमती प्रदेश सरकारले १३ जिल्लामा विपद् व्यवस्थापनका लागि आर्थिक वर्ष २०८०/०८१ का लागि १ करोड ७० लाख रुपैयाँ बजेट प्रदान गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा विपद् व्यवस्थापनका लागि पठाएको १ करोड ७० लाख रुपैयाँ बजेट मध्ये ६१ लाख ८७ हजार रुपैयाँ खर्च भएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ को सुरुवातमा प्रदेशभित्रका १३ जल्लाका विपद् व्यवस्थापन समितिलाई १० लाखका दरले राहत रकम प्रदान गरेको थियो । जसमा मकवानपुरमा १० लाख रुपैयाँ विपद् व्यवस्थापनमा खर्च भएको छ भने सिन्धुलीमा ३० लाख रुपैयाँ प्रदान गरिएकोमा १४ लाख ९२ हजार रूपैयाँ खर्च गरिएको छ । रामेछापमा ३० लाख रूपैयाँ प्रदान गरिएकोमा १५ लाख ६० हजार रुपैयाँ खर्च भएको छ ।

यस्तै सिन्धुपाल्चोकमा १० लाख रुपैयाँ प्रदान गरिएकोमा ४ लाख ३० हजार खर्च गरिएको छ । दोलखामा १० लाख रुपैयाँ प्रदान गरिएकोमा ६ लाख ९५ हजार विपद् व्यवस्थापनका लागि खर्च गरिएको छ । रसुवामा १० लाख रकम प्रदान गरिएकोमा १० हजार रुपैयाँ खर्च गरिएको छ ।

चितवनमा १० लाख रुपैयाँ प्रदान गरिएकोमा ३ लाख रुपैयाँ खर्च भएको छ भने काठमाडौंमा १० लाख रुपैयाँ प्रदान गरिएकोमा ६ लाख ९० हजार रुपैयाँ विपद् व्यवस्थापनमा खर्च गरिएको छ । भक्तपुरमा १० लाख रुपैयाँ बजेट प्रदान गरिएकोमा १० हजार रुपैयाँ मात्रै खर्च भएको छ । ललितपुर, नुवाकोट, धादिङ र काभ्रेमा विपद् व्यवस्थापनका लागि १०÷१० लाख प्रदान गरिएकोमा सो रकम खर्च नभएको मन्त्रालयले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन कोषहरुमा राहत रकम अपुग भएपछि प्रदेश विपद् व्यवस्थापन कोष सञ्चालक समितिको निर्णयमा थप रकम उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ । मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जीका अनुसार उपलब्ध गराएको बजेटमा ५० प्रतिशत रकम खर्च भएपछि जिल्लाबाट पुनः माग गरे अनुसार रकम उपलब्ध गराउने व्यवस्था रहेको छ । मन्त्रालयले विपद् उद्दार तथा राहतका लागि मात्र नभई पुनःस्थापनाका लागि पनि रकम उपलब्ध गराएको सचिव दर्जीको भनाई छ । मन्त्रालयले मनसुनजन्य र आगलागी विपद् व्यवस्थापनका लागि प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० को दफा ३(घ) बमोजिम आवास पुनः निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा रकम पठाएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनसुनजन्य विपद् प्रभावित नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर र धादिङका लागि क्रमशः १ करोड ४८ लाख २० हजार, १४ करोड ४३ लाख ९७ हजार, ९ लाख ८२ हजार, २२ हजार ५०० र ८ लाख ५५ हजार गरी कुल १६ करोड १० लाख ७७ हजार रुपैयाँ उपलब्ध गएको छ । त्यस्तै आगलागीजन्य विपद् प्रभावितका लागि मकवानपुर र रामेछापमा क्रमशः २ लाख २ हजार रुपैयाँ र ९ लाख ९० हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

३ करोड रुपैयाँको उद्दार सामग्री खरिद
प्रदेश सरकारले विपद् खोज तथा उद्दार कार्य प्रभावकारी बनाउन ३ करोड रुपैयाँको उद्दार सामग्री खरिद गरेको छ । प्रदेशका विभिन्न जिल्लामा हुने विपद्का घटनाहरुमा तत्काल उद्दारमा खटिन सो सामग्रीहरु प्रयोग गर्नेगरी स्टोर गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले ३ करोड रुपैयाँ लागतमा ६४ प्रकारका विपद् उद्दार सामाग्री खरिद गरी भण्डारण गरेको सचिव दर्जीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशले प्राकृतिक प्रकोपबाट आईपर्ने विपद् व्यवस्थापनका लागि ६४ प्रकारका राहत तथा उद्दार सामग्री खरिद गरी ३ वटा गेदामघरमा भण्डारण गरेको छ ।

प्रदेशले खरिद गरेको विपद् उद्दार सामग्री भरतपुर महानगरपालिका–२९ को सिमलतालमा पहिरोमा परी त्रिशुली नदीमा वेपत्ता भएको यात्रुवाहक बसको खोजी कार्यमा समेत प्रयोग गरिएको छ । खोजी तथा उद्दार कार्यलाई प्रभावकारी बनाउन मन्त्रालयबाट मोटरबोट–१, र्याफ्ट बोट–१ र पानी मुनिसम्म खोज्ने सक्ने क्यामरा १ थान सशस्त्र प्रहरी बल नेपाल नम्बर–३ गढीमाईलाई प्रदान गरेको उहाँले बताउनुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि १९ जनालाई गोताखोर तालिम प्रादन गरिएको उहाँले जानकारी दिनुभयो । सो तालिमका लागि मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल नम्बर–३ गढीमाईलाई ३० लाख रुपैयाँ प्रदान गरेको थियो । मन्त्रालयले विपद् व्यवस्थापन वेस (गुल्म) भवन हेटौँडा र काभ्रेमा निर्माण भई सञ्चालनमा ल्याएको सचिव दर्जीले बताउनुभयो । विपद् सुरक्षा संस्कृति निर्माण गर्ने उद्देश्यसहित विपद् व्यवस्थापनका लागि स्वयम्सेवक समूह निर्माण तथा परिचालनका लागि प्रदेश स्वयमसेवक व्युरो तथा स्वयम्सेवक परिचालन सम्बन्धी कार्यविधि, २०८० तर्जुमा गरी कार्यान्वयनमा रहेको उहाँको भनाइ छ । सो कार्यविधि अनुसार प्रदेशका ११ स्थानीय तहका वडास्तरमै स्वयम्सेवक समूह गठन गर्नका लागि ४ लाख २५ हजार रुपैयाँका दरले आर्थिक सहायता अख्तियारी प्रदान गरिएको छ ।

जसमा दोलखाको शैलुङ गाउँपालिका, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका र बाह्रबीसे नगरपालिका, भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिका, रसुवाको कालिका गाउँपालिका, धादिङको गंगाजमुना गाउँपालिका, काठमाडौंको दक्षिणकाली र चन्द्रागिरी नगरपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र कमलामाई नगरपालिकाले स्वयम्सेवक समूह निर्माण गरेको छ ।