सांकेतिक तस्वीर ।

हेटौँडाः धादिङ जिल्लामा एकै दिन २ जनाको मृत्यु भएको छ । धादिङ जिल्लाको गल्छी गाउँपालिका–८, थागेश्वर मन्दिरमा एक जना पुरुष मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । सोमबार बेलुका ७ बजेको समयमा अन्दाजी ३२ वर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । सनाखत हुन नसकेको शवको मुचुल्का पश्चात पोष्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौँ लगिएको छ ।

धादिङ जिल्लाको गजुरी गाउँपालिका–५, पोखरेखोलामा रुख ढलेर ईलेक्ट्रिक भ्यानलाई थिच्दा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुवि भ्याली गाउँपालिका–१ बस्ने ७२ वर्षीय निर्माग तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहान ९ बजेर २५ मिनेटको समयमा पृथ्वी राजमार्गमा गजुरीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ६५१२ नम्बरको ईलेक्ट्रिक भ्यानलाई सडक माथिबाट रुख ढली थिच्दा भ्यानमा सवार १५ जना मध्ये १० घाईते भएका थिए ।

घाइते सबैलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको थियो । घाइते तामाङलाई सामान्य उपचार पश्चात थप उपचारका लागि बीर अस्पताल काठमाडौँ लगिएकोमा दिउँसो १ बजेको समयमा मृत्यु भएको र बाँकी घाइतेहरुलाई सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको प्रहरीले जानकारी दिएको छ ।