हेटौंडाः बागमती प्रदेशको ४ जिल्लामा विभिन्न घटनामा एकै दिन ५ जनाको मृत्यु भएको छ । प्रदेशको धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लामा एकै दिन ५ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
धादिङ जिल्लाको गल्छी गाउँपालिका–१, थानचौरमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ४८ वर्षीय सीताराम गैरे रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो ३ बजेर ४५ मिनेटको समयमा गैरे बैरेनीबाट पोखरिया जाने भित्री सडकखण्डको नालीमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–६, पिप्लेमा खोलाले बगाएर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीय बिक्रम लामिछाने रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार बिहान ८ बजेको समयमा लामिछाने चिप्चिन्डे खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएका थिए । लामिछाने सोही दिन खोलाबाट २ सय मिटर पर पिप्ले बिरुवास्थित चिप्चिन्डे खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–९, गहतेदीमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा रोशी गाउँपालिका–५, सिसाखानी घर भई विगत १ बर्षदेखि वडा नम्बर २ गुम्बाटोल बस्दै आएका ७० वर्षीय सुब्बा सिंह तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार बिहान ११ बजेको समयमा तामाङ डोको बेच्न हिँडेका थिए । तामाङ बुधबार साँझ ५ बजेको समयमा गहतेदीस्थित गोरेटो बाटोको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका–११ मा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गाउँपालिका–४, लुबु बस्ने कमल तामाङको ४ वर्षीय छोरा मञ्जिल तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
बुधबार तामाङ हाँडीखोला दोभानको ढुङ्गामा अड्किरहेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेपश्चात् प्रहरी टोली खटी गई बालकको उद्दार गरेका थिए । बालकलाई उद्दार गरी उपचारका लागि लाम्पाङटार स्वास्थ्य केन्द्र लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुली जिल्लाकै गोलन्जोर गाउँपालिका–६, दारिमबाटैमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीया शोभा सर्किनी रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार साँझ ५ बजेर ४० मिनेटको समयमा सर्किनी धान रोप्ने क्रममा एक्कासी टाउको दुखेर बेहोस भएकी थिइन् । सर्किनीलाई उपचारका लागि खुर्कोटस्थित सुनकोशी सामुदायिक अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।