हेटौंडाः बागमती प्रदेशको ३ जिल्लामा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रदेशको मकवानपुर, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा मंगलबार भएको सवारी दुर्घटनामा परेर १२ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा–५ स्थित कान्तिलोकपथ सडकखण्डमा पिप्लेबाट बुद्धचोकतर्फ आउँदै गरेको ना १ ह १८९८ नम्बरको इ–रिक्साले बुद्धचोकबाट सानोपोखरातर्फ जाँदै गरेको पैदलयात्री सोही स्थान बस्ने ५१ वर्षीय राम कार्कीलाई ठक्कर दिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । नाक, कान, मुख र दुबै घोडामा चोट लागेर उपचारका लागि हेटौंडा अस्पतालमा पठाएकोमा कार्कीको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ । कार्कीलाई ठक्कर दिने इरिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, मकवानपुरको थाहा नगरपालिकामा सवारी दुर्घटना हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा थाहा नगरपालिका १२ नम्बर वडाका दोवानी खोला बसोबास गर्ने ३४ वर्षीय कुमार गोले रहेका छन् । त्रिभुवन राजपथ सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको नम्बर नखुलेको डिब्बा ट्रकले ठक्कर दिँदा गोले घाइते भएका हुन् । गोलेलाई ठक्कर दिएर ट्रक फरार भएको छ । दुर्घटनामा घाइते गोलेलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाएको प्रहरीले जनाएको छ । घाइते गोलेको खुट्टा, बायाँ हात र अन्य भागमा चोट लागेको छ । ठक्कर दिई फरार डिब्बा ट्रक्को खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
चितवन जिल्लामा सवारी दुर्घटना हुँदा एकजना घाइते भएका छन् । चितवनको भरतपुर महानगरपालिका वडा–११ स्थित अमनचोकमा आफैँ अनियन्त्रित भई ना ३० प २६१४ नम्बरको स्कुटर स्कुटरमा सवार नवलपुर जिल्ला गैंडाकोट नगरपालिका बस्ने १९ वर्षीय निशान गुरुङ घाइते भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गुरुङको टाउकोमा रगत जमेको अवस्थामा ११ बजेको समयमा भरतपुर सहकारी अस्तपाल लगिएको थियो । गैंडाकोट नगरपालिका वडा–३ बस्ने सवारी चालक अनुमतिपत्र नभएको स्कुटर चालक राहुल बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, चितवन जिल्लाको भरतरपुर महानगरपालिका वडा–११ स्थित अमनचोकमा सवारी दुर्घटनमा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा ७० वर्षीय राजकुमारी श्रेष्ठ र ७३ वर्षीय खड्कबहादुर श्रेष्ठ रहेका छन् ।विशालचोबाट आइरहेको ना १ ज ८७३४ नम्बरको म्याजिकले कुमाल गुठीबाट विशालचोक आइरहेको ना २४ प १४७५ नम्बरको मोटरसाइकललाई सोही स्थानमा ठक्कर दिँदा श्रेष्ठद्वय घाइते भएको प्रदेश प्रहरीले जनाएको छ । प्रहरी चौकीको कमाण्डमा खटिएको टोलीले १ किलोमिटर उत्तर पर्ने एलाइभ अस्पतालामा उपचारका लागि पठाएको र दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा सवारी दुर्घटना हुँदा ७ जना मानिस घाइते भएका छन् । तेमाल गाउँपालिकामा सवारी दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् । लामा गाउँबाट तेमाल गाउँपालिकाको कार्यालयतर्फ जाँदै गरेको बा १९च ५३६४ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा बोलेरोमा सवार १३ जनामध्ये ७ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । सडकको उकालोबाट पछाडि आएको बोलेरो सडकको बायाँ भागमा दुर्घटना भएको हो । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ । घाइतेको उपचारका लागि बोलेरोका साहु संलग्नमा रहेको प्रहरीले बताएका छन् ।