प्रतिपक्ष दलका प्रदेश सभा सदस्यको न्यून उपस्थितिका कारण खाली कुर्सीहरु ।

हेटौँडाः बागमती प्रदेशसभा बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनको विधेयक पारित गरेको छ । बुधबार बसेको प्रदेशसभा बैठकले उक्त विधेयक सर्वसम्मत पारित गरेको हो ।

प्रदेशसभामा सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले पेश गर्नुभएको विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सभामुख भुवन कुमार पाठकले निर्णायार्थ पेश गर्नुभएको थियो । सभामुख पाठकले निर्णायार्थ पेश गर्नुभएको विधेयकलाई बैठकमा उपस्थित प्रदेश सभा सदस्यहरुले सर्वसम्मत स्वीकृत गरेका छन् । विधेयक प्रदेश सभाबाट पारित भएसँगै ऐनको रुप प्रदान गर्न प्रदेश प्रमुख समक्ष प्रमाणीकरणका लागि पठाउने प्रदेश सभा सचिवालयले तयारी गरेको छ ।

त्यसअघि प्रदेशसभा बैठकले उक्त विधेयक माथि छलफल गरी शिक्षा स्वास्थ्य तथा कृषि समितिले तयार पारेको निर्णय सहितको प्रतिवेदन पेश भएको थियो भने सो उपर छलफल भएको थियो । प्रदेश सभा बैठकमा मन्त्री खड्गीले पेश गर्नुभएको विधेयकको निर्णय सहितको प्रतिवेदन माथि कुनैपनि सदस्यले छलफलमा भाग लिएनन् । सभामुख पाठकले ३ मिनेटको समय निर्धारण गरी छलफलमा सहभागी हुन रुलिङ गरेपनि प्रदेशसभाका कुनै सदस्यले छलफल गर्न चाहेनन् । सदस्यहरुले छलफलमा भाग नलिएपछि सभामुख पाठकले विधेयकलाई पारित गर्ने प्रक्रियामा अघि बढाएका थिए ।

दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक एक घण्टा ढिलो गरी सुरु भएको थियो । प्रदेशसभा बैठकमा सत्तापक्षको बेञ्च भरिभराउ थिए भने प्रतिपक्षको उपस्थिति न्यून रहेको थियो । ११० सदस्यीय प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रदेश सभा सदस्यको उपस्थिति न्यून रहेको थियो । प्रतिपक्षमा पुगेको माओवादी केन्द्रले सरकार परिवर्तन पछिको दोस्रो बैठक नै छाडेका हुन् । मंगलबार मुख्यमन्त्री बहादुर सिंह लामाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथिको छलफलमा माओवादी केन्द्रकी राधिका तामाङ बाहेक अन्य सबै सदस्य उपस्थित थिए ।

बुधबारको बैठकमा प्रतिपक्षको बेञ्चमा रहेको माओवादीका २१ सदस्य मध्ये ८ जनाको उपस्थिति रहेको थियो । बैठकमा दलका प्रमुख सचेतक रत्न ढकाल, भुवन केशरी श्रेष्ठ, मातृका भट्टराई, ठाकुर प्रसाद ढकाल, उर्मिला लामा, रुकु चौलागाई, देवेन्द्र श्रेष्ठ र इश्वर सापकोटा उपस्थित हुनुहुन्थ्यो ।

यता राप्रपाका १३ सदस्य मध्ये दलको नेता उद्धव थापा, आशा लामा, नुरज बज्राचार्य, डम्बर तामाङ, लक्ष्मी घिमिरे र धनेश्वरी प्रजापति उपस्थित हुनुहुन्थ्यो । अन्य ६ जना सदस्य भने बैठकमा उपस्थित थिएनन् । उता प्रतिपक्ष दल एकीकृत समाजवादीबाट एकजना उपस्थित भएका थिए । सो दलबाट रमा आले मगर उपस्थित हुनुहुन्थ्यो भने नेमकिपा र हाम्रो नेपाली पार्टीबाट बैठकमा एकजना पनि सहभागी थिएनन् । बैठकमा एमालेका २७ र कांग्रेसका ३७ सदस्य उपस्थित थिए ।