Home मुख्य समाचार मौद्रिक नीति व्यवसायीमैैत्रीः मउवा संघ

मौद्रिक नीति व्यवसायीमैैत्रीः मउवा संघ

मउवा संघले जारी गरेको धारणा ।

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवा संघ) ले आर्थिक वर्ष २०८१/८२ का लागि ल्याइएको मौद्रिक नीतिको स्वागत गरेको छ । एक धारणापत्र सार्वजनिक गर्दै मउवा संघले सरकारले ल्याएको मौद्रिक नीति व्यवसायीमैत्री भएको भन्दै नीतिको स्वागत गरेको हो ।

मउवा संघ मकवानपुरका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ केन्द्रीय बैंकले सार्वजनिक गरेकोे मौद्रिक नीतिलाई आफूहरुले स्वागत गरेको र यो नीति व्यवसायीमैत्री भएको बताउनुभएको छ । मौद्रिक नीतिमार्फत् बैंकदर ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशत कायम गरिनु सकारात्मक रहेको उहाँले बताउनुभयो । चर्को बैंक ब्याजदरले शिथिल निजी क्षेत्रलाई यसले सहजता प्रदान गर्ने विश्वास लिएको उहाँको भनाइ छ ।

मुद्रास्फिती ५ प्रतिशत कायम राख्ने, कर्जा वृद्धिदर १२.५ प्रतिशत पु¥याउने, संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज तथा चालु पुँजी कर्जामा सहुलियततर्फ २०८२ सम्म कर्जा समायोजन गर्न पाउने विषय समेटिनु स्वागतयोग्य भएको धारणापत्रमा उल्लेख गरिएको छ । असल कर्जामा विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्था घटाएर १.१० प्रतिशत कायम गरिनु, चेक अनादरलाई आधार मानेर कालोसूचीमा राख्ने र बैकिङ्ग कारोबार बन्देज हुने गरी खाता रोक्का राख्ने व्यवस्था परिमार्जन गरी विद्यमान कर्जा सूचना तथा कालोसूची सम्बन्धी निर्देशिकामा पुनरावलोकन गरिने व्यवस्थाले व्यवसायीहरुलाई राहत प्रदान गर्ने संघको विश्वास रहेको पत्रमा उल्लेख गरिएको छ ।

यद्यपि संस्थागत सेयर कारोबारलाई प्रोत्साहन गर्न २० करोडको सीमा हटाए पनि ५० लाख माथिको कर्जा प्रवाहको जोखिमभार शतप्रतिशत कायम गरिनुपर्ने एवम् मूल्याङ्कनको सीमा ८०ः२० को अनुपातमा कायम गरिनुपर्ने माग पूरा हुन नसकेको अध्यक्ष गुप्ताको भनाइ छ । आर्थिक ऐन र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत् आगामी दिनमा अर्थतन्त्र चलायमान हुने, कर्जा विस्तारलाई सहयोग पुग्ने तथा समग्र उत्पादक, वितरक एवम् उपभोक्तालाई राहत प्रदान गर्नेछ भन्ने विश्वास लिएको पनि उहाँले बताउनुभयो ।

Exit mobile version