Home विचार शैक्षिक सुधारका लागि चाल्नु पर्ने प्रभावकारी उपायहरु

शैक्षिक सुधारका लागि चाल्नु पर्ने प्रभावकारी उपायहरु

बिमल केशरी पौड्याल

२०८० को एसईईको परीक्षाफल प्रकाशित भएसँगै शैक्षिक सुधारको आवश्यकता बारे बहस शुरु भएको छ । मकवानपुर जिल्लामा ३६.६ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् भने १३८ विद्यालय मध्ये १६ विद्यालयका कुनै पनि विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य भएनन् । हेटौँडा उपमहानगरपालिकामा उत्तीर्ण प्रतिशत ५४ छ भने २ वटा विद्यालय (निजि–१ र सामुदायिक–१) को नतिजा शून्य छ । मकवानपुर जिल्लाका विभिन्न स्थानीय तहमा एसईई उत्तीर्ण प्रतिशत निम्न अनुसार रहेको छ, थाहा नगरपालिका २७.५ प्रतिशत, बकैया गाउँपालिका १२.९ प्रतिशत, कैलाश गाउँपालिका ५.५ प्रतिशत, बागमती गाउँपालिका ८ प्रतिशत, मनहरी गाउँपालिका २३.९ प्रतिशत, राक्सिराङ गाउँपालिका ९.८ प्रतिशत, मकवानपुरगढी गाउँपालिका १५.३ प्रतिशत, भीमफेदी गाउँपालिका ९.८ प्रतिशत, इन्द्रर्सरोवर गाउँपालिका १६.७ प्रतिशत ।

हेटौँडा उपमहानगरपालिका बाहेक मकवानपुरका ९ वटा स्थानीय तहको औसत उत्तीर्ण प्रतिशत १४.४ रहेको छ । शिक्षामा राज्यको लगानी विशेषगरी सरकारी विद्यालयमा निजीको तुलनामा बढी भए पनि (सरकारी शिक्षकको तलब, सुविधा निजि भन्दा बढी रहेको) एसईईमा उत्तीर्ण प्रतिशत कम हुनु विडम्वना हो । समग्रमा विद्यालय शैक्षिक सुधारका लागि निम्न लिखित उपायहरु प्रभावकारी हुन सक्छन ।

१. प्रधानाध्यापकको सक्रियताः प्रधानाध्यापक विद्यालयको शैक्षिक र प्रशासन दुवै क्षेत्र हेर्ने र व्यवस्थापन गर्ने महत्वपूर्ण व्यक्ति हो । प्रधानाध्यापकको सक्रियताले शैक्षिकस्तर अभिवृद्धिका लागि ठूलो भूमिका खेल्छ ।

२. शिक्षकको अध्यापनः शिक्षकले विद्यार्थीलाई पढाउने मात्र नभई आफ्नो विषयमा कम्जोर विद्यार्थीलाई अतिरिक्त समय दिएर तथा पठन पाठनका नयाँ तरिकाहरु अपनाई पढाउन सके विद्यार्थीको सिकाई प्रभावकारी हुन्छ ।

३. व्यवस्थापन समितिः विद्यालय व्यवस्थापन समिति सक्रिय भएमा विभिन्न विषय शिक्षकको कमि, शिक्षक वा विद्यार्थी कक्षाकोठामा कम उपस्थित हुनु वा अन्य कारणले शैक्षिकस्तर कमजोर हुन गएको अवस्थामा उपयुक्त र समय सापेक्ष कदम चाल्न सक्छ । विद्यालयको शैक्षिक अवस्था बारे यसले निरन्तर निगरानी गर्नुपर्ने हुन्छ ।

४. अभिभावकको सक्रियताः आफ्ना बालबालिकाहरुको विद्यालयमा शैक्षिक गतिविधि मात्रै नभई घरमा हुँदा पनि कति समय कक्षाको होमवर्कमा र कति समय अन्य गतिविधि दिन्छन् भन्ने अनुगमन कार्य अभिभावकको काँधमा पर्छ । अभिभावकको अनुगमनले शैक्षिक सुधारमा सकारात्मक प्रभाव पर्छ ।

५. स्थानीय सरकारको सक्रियताः विद्यालय शिक्षाको दायित्व स्थानीय सरकारमा रहेकोले स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । स्थानीय सरकारले आफ्नो मातहतका विद्यालयको निरन्तर अनुगमन, निरीक्षण गर्ने परिपाटी बसाले विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि हुने निश्चित छ । यसका साथै विद्यालयमा पाठ्यपुस्तक तथा पाठ्य सामग्रीको उपलब्धता, सिकाईका नयाँ तरिकाहरु, विषय शिक्षकको उपलब्धता, विद्यार्थीको पारिवारिक र आर्थिक स्थिति महत्वपूर्ण हुन्छ । सिकाइको महत्वपूर्ण तर ओझेलमा परेको पाटो आधारभूत तहमा अध्ययनरत विद्यार्थीलाई आफ्नो मातृभाषामा सिकाइको व्यवस्था हुनु हो । यी सबै कुराहरुले शिक्षा क्षेत्र सुधारलाई प्रभावित पार्दछ । प्राथमिक तहदेखि नै सिकाइमा सुधार ल्याउन सकियो भने माथिल्लो तहमा सुधार हुँदै जान्छ । प्राथमिक तहमा मातृभाषामा अध्यापन गराउने विषयलाई स्थानीय सरकारले गम्भीरतापूर्वक कार्यान्वयन गर्ने हो भने विद्यार्थीको सिकाइमा ठूलो उपलब्धि हुने निश्चित छ ।

Exit mobile version