हेटौँडाः नुवाकोटका मुख्यमन्त्री बहादुर सिं लामाको मन्त्रिमण्डलमा नियुक्त भएका अधिकांश मन्त्रीहरु काठमाडौं उपत्यकाका रहेका छन् । उपत्यकाका ३ जिल्लाका मात्र ९ जना मुख्यमन्त्री लामाको मन्त्रिपरिषद्मा मन्त्री बन्ने अवसर पाएका छन् ।
१३ जिल्ला रहेको प्रदेशमा १३ मन्त्रालय रहेको छ । उक्त मन्त्रालयमा ७ जिल्लाका प्रदेश सभा सदस्यले मन्त्री हुने अवसर पाएका छन् । प्रदेश राजधानी रहेको मकवानपुरसहित रसुवा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोकले मन्त्री पाएन । १० निर्वाचन क्षेत्र रहेको काठमाडौंले मात्र ६ मन्त्री पाएको छ । उपत्यकाको ललितपुरले २ र भक्तपुरले १ मन्त्री पाएको छ । काठमाडौंबाट एमालेका प्रकाश श्रेष्ठ, अमन कुमार मास्के मन्त्री बन्नुभएको छ भने कांग्रेसबाट श्याम खड्का, हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, विमल ठकुरी मन्त्री बन्नुभएको छ ।
ललितपुरबाट एमालेका प्रेमभक्त महर्जन र कांग्रेसका मीनकृष्ण महर्जन मन्त्री बन्नुभएको छ भने भक्तपुरबाट एमालेका किरण थापा मन्त्री बन्नुभएको छ । कांग्रेसबाट दोलखाका कुन्दनराज काफ्ले, धादिङका मदु कुमार श्रेष्ठ मन्त्री बन्नुभयो भने एमालेबाट सिन्धुलीकी सुकमाया तामाङ र चितवनका कृष्ण प्रसाद सिलवाल मन्त्री बन्नुभएको छ ।