हेटौँडाः हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ बालमैत्री शासनयुक्त वडा घोषणा भएको छ । शनिबार एक कार्यक्रमका बीच हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गर्नुभएको हो ।
हेटौँडा–२ का वडाध्यक्ष एवम् बालमैत्री शासन मूल समारोह समितिका संयोजक विष्णु गोपाल महर्जनले २०७९ साल मंसिरदेखि सुरु भएको बालमैत्री घोषणा अभियानदेखि हालसम्मका प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार वडाले ५१ सूचकमध्ये ४६ सूचक पूर्णरुपमा कार्यान्वयन गरेको छ भने अन्य सूचक पनि पूर्ण रुपमा कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । वडाले बालबालिकाको क्षेत्रमा काम गर्न पञ्चवर्षीय लगानी योजना बनाएको उहाँले जानकारी दिनुभयो । वडाभित्र १८ वर्षभन्दा कम उमेरका १ हजार ८ सयभन्दा बढी बालबालिका रहेको बताउनुहुँदै वडाले बालबालिकाको क्षेत्रमा विशेष प्राथमिकता दिएको उहाँले दावी गर्नुभयो । उहाँले वडाले पूरा गरेको सूचकहरुको दिगोपनाका लागि सरकार, जनप्रतिनिधि, अभिभावक र टोल विकास संस्थाहरु लगायत सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
हेटौँडा–२ नगरको दोस्रो बालमैत्री वडा घोषणा भएको छ । यसअघि वडा नम्बर ८ बालमैत्री शासनयुक्त वडा घोषणा भइसकेको छ । हेटौँडा उपमहानगरपालिकाले २०८० को मंसिरसम्ममा नगरलाई नै बालमैत्री घोषणा गर्ने तयारी गरेपनि हालसम्म दुई वटा वडा मात्रै बालमैत्री घोषणा भएको छ । हेटौँडाका अन्य वडाहरुले पनि बालमैत्री शासनयुक्त वडा घोषणाको तयारी गरिरहेको छ । साउन महिनामै हेटौँडाका केही वडाहरुले बालमैत्री वडा घोषणाको तयारी गरिरहेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य तारा ढुङ्गाना, नगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद गौतम र महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने लगायतको आतिथ्य रहेको थियो । बालमैत्री वडा घोषणा कार्यक्रमअघि र्याली निकालिएको थियो । र्याली वडाका विभिन्न भागमा पुगेर कार्यक्रमस्थल एभोकाडो होटल पुगेको थियो ।