हेटौँडाः मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानले हेटौँडा–५ स्थित हाम्रो घर अनाथ आश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।
शनिबार आश्रममै पुगेर खाद्यान्न सामग्री सहयोग गरेको हो । भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानमा आवद्ध भएका पदाधिकारीहरु आश्रममा पुगेर २५ हजार रुपैयाँ बराबरको दाल, आलु, प्याज नुन लगायतका खाद्यान्न सामग्री सहयोग गरेको हो । आश्रममा खाद्यान्न अभाव भएको भन्ने जानकारी प्राप्त भएपछि दुबै संस्थाका पदाधिकारीको सहयोग आश्रमकी अध्यक्ष इन्दिरा न्यौपाने डल्लाकोटीलाई सामग्री हस्तान्तरण गरिएको छ ।
केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यमा खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रम भएको हो । कार्यक्रममा वडा सदस्यहरु रञ्जिता सिलवाल, रामबहादुर राई, वडा सचिव सुस्मिता महत, जिल्ला भलिबल संघका अध्यक्ष बसन्त सिटौलाको पनि उपस्थिति रहेको थियो । आश्रममा हाल २६ जना बालबालिका आश्रित छन् ।