हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा पनि भाटभटेनी सुपरमार्केट खुल्ने भएको छ । हेटौंडा–२, चौकीटोलमा आज धार्मिक विधिअनुसार भाटभटेनी सुपरमार्केट सञ्चालनका लागि निर्माण गर्न लागेको भवनको सिलान्यास गरिएको छ । भाटभटेनीका मालिक मीनबहादुर गुरुङले आज बिहान भवनको सिलान्यास गर्नुभएको छ । सिलान्यास कार्यक्रममा मीनबहादुर गुरुङकी श्रीमति सावित्री घले गुरुङको पनि उपस्थिति रहेको थियो ।
काठमाडौं उपत्यकाभित्र ११ वटा सुपरमार्केट सञ्चालनमा ल्याएको भाटभटेनीले देशका ठूला ७ सहरमा सुपरमार्केट सञ्चालन गरिरहेको छ । इटहरीमा पनि भाटभटेनीको सुपरमार्केट निर्माणाधिन अवस्थामा छ । निर्माण सुरुवातका हिसावले इटहरीको सुपरमार्केट १९ औं हो भने हेटौंडामा भाटभटेनीको २० औं सुपरमार्केट हुनेछ । २०७८ साल बैशाख महिनामा सुपरमार्केट सञ्चालन गर्ने गरी निर्माण सुरु गरिएको भाटभनेटी सुपरमार्केटका चिफ इन्जिनियर सूवर्ण डंगोलले जानकारी दिनुभएको छ ।
भाटभटेनीले २ तल्लाको अण्डरग्राउण्ड पार्किङसहित ८ तल्लो भवन निर्माण गर्नेछ । चौथो र पाँचौ तल्लामा दुईवटा मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा आउनेछ । आठ कठ्ठा १२ धुर जमिनमा खरिद गरेर भवन निर्माण थालेको भाटभटेनी सुपरमार्केटका सूवर्ण डंगोलले जानकारी दिनुभयो । ११ हजार ५ सय वर्गफिटको एउटा तल्ला निर्माण हुनेछ ।