हेटौँडाः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभीटी) अन्तर्गत ३ बर्षे डिप्लोका विभिन्न कार्यक्रममा छात्रवृत्तिका लागि शनिबार हेटौँडामा सञ्चालित बागमती प्रदेशस्तरीय परीक्षामा ५ जना नक्कली परीक्षार्थीलाई पक्राउ परेका छन् । परीक्षाको निरीक्षणको क्रममा हेटौँडा–२ स्थित सिद्धार्थ मावि परीक्षा केन्द्रबाट एकजना र हेटौँडा–४ स्थित भुटनदेवी मावि परीक्षा केन्द्रबाट ४ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
नक्कली परीक्षार्थीलाई सिटिइभिटिले प्रहरीको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार भुटनदेवी माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट बारा जिल्लाको परवानीपुर नगरपालिका–२ का २० वर्षीय नरेन्द्र महतोले रौतहट घर भएका १९ वर्षीय असाव आलमको ठाउँमा परीक्षा दिएको, चितवन जिल्लाको भरतपुर महानगरपालिका–८ का १५ वर्षीय रुपेश यादवले १८ वर्षीय निमेष राय यादवको ठाउँमा परीक्षा दिएको, सर्लाही जिल्लाको विष्णु गाउँपालिका–७ का १८ वर्षीय राजिव कुमार राउतले सिराहा जिल्लाका १८ वर्षीय ललन कुमार यादवको ठाउँमा परीक्षा दिएको बताइएको छ ।
यस्तै रौतहट जिल्लाको गरुडा नगरपालिका–२ का १८ वर्षीय लाल बाबु सहनीले सर्लाही जिल्लाका १८ वर्षीय सुनिल महतोको ठाउँमा परीक्षा दिएका थिए भने सिद्धार्थ मावि परीक्षा केन्द्रमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१२ का २० वर्षीय रमेश यादवलाई शंका लागि आवश्यक जाँच गर्दा बारा जिल्लाको पचरौता गाउँपालिका–५ का राकेश कुमार ठाकुरको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरेका थिए । रमेश यादवलाई नक्कली परीक्षार्थीको रुपमा पहिचान गरेपछि यादवकै सूचनाका आधारमा भुटनदेवी मावि परीक्षा केन्द्रमा पनि नक्कली परीक्षार्थी पहिचान गर्न सफल भएको बताइएको छ । नक्कली परीक्षार्थीलाई ६ महिना कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।
पहिचान भएका नक्कली परीक्षार्थीलाई प्रहरीको जिम्मा लगाइएको सिटिइभिटिको हेटौँडास्थित कार्यालयका उपनिर्देशक एवम् सूचना अधिकारी विनोद चन्द्र झाले जानकारी दिनुभएको छ । बागमती प्रदेशस्तरीय छात्रवृत्तिका लागि आवेदन दिएका ७ हजार १ सय ५४ जना मध्ये शनिबारको परीक्षामा ६ हजार ६ सय ५४ जना मात्रै सहभागी भएका छन् । परीक्षा दिएका मध्ये ९ सय ७१ जनाले विभिन्न विषयमा पूर्ण छात्रवृत्ति पाउनेछन् ।