हेटौँडाः बागमती प्रदेशको २ जिल्लामा विभिन्न घटनामा एकै दिन ५ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन र काभ्रेपलाञ्चोक जिल्लामा एकै दिन ५ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१, भतेरी जङ्गलमा कन्टेनर र इन्डियन ट्रक एक आपसमा ठोकिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेका इन्डियन ट्रक चालक भारत उत्तर प्रदेश का २४ वर्षीय हेहताव आलम र कन्टेनर चालक पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२४ का ४० वर्षीय प्रमोद पटेल रहेको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार नारायणगढ मुग्लिङ सडक खण्डमा नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट ओभर ट्रयाक गरी आउदै गरेको डीडी ०१ एल ९१६१ नम्बरको इन्डियन ट्रक एक आपसमा ठोकिँदा दुर्घटना भएको थियो । दुर्घटना हुँदा आलम र पटेलसहित ट्रकका सह–चालक भारतको गोरखपुर का २२ वर्षीय सावन अहमद घाइते भएका थिए । घाइते तिनै जनालाई उपचारका लागि नयाँ मेडीकल कलेज लगिएकोमा आलम र पटेलको उपचारको क्रममा मृत्यु भएको र अहमदको सोहि अस्पतालमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–४, गैंडाचोकमा मानव कंकाल फेला परेको छ । शुक्रबार बिहान ११ बजेर ५० मिनेटको समयमा नारायणी नदिको बिच टापुमा मानवको छाला मासु नभएको हड्डी मात्र रहेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात कंकाल पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल लगिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, कमलनगरमा एक जना पुरुष मृत फेला परेका छन् । शुक्रबार ग्लोबल एम्पोरियम फेन्सी पसल अगाडि पेटिमा हाल नामथर नखुलेको अन्दाजी ५५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि सरकारी अस्पताल भरतपुर लगिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–५, मा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपा नगरपालिका–३ नाला बस्ने ३२ वर्षीया इश्वरी सुन्दाश रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार सुन्दाश डेलिभरीका लागि बनेपामा रहेको शिर मेमोरियल अस्पताल बनेपामा नर्मल भर्ना भएकी थिइन् । सुन्दाशले शुक्रबार नर्मल डेलिभरी भई नवजात शिशु (छोरा) जन्माए पश्चात रगत बग्न नरोकीए पछि सोही अस्पतालमा पाठेघरको शल्यक्रिया गरिएको थियो । अवस्था नाजुक भए पश्चात सुन्दाशलाई आईसियुमा राखिएकोमा सोहि दिन राती ११ बजेर ५५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–३, बाँसघारीमा मिनि ट्रिफरले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार राती ९ बजेर ५५ मिनेटको समयमा अरनिको राजमार्गमा बनेपाबाट धुलिखेल तर्फ आउँदै गरेको बा प्र ०१–००४ क ०१३० नम्बरको मिनि ट्रिफरले हाल नाम थर नखुलेको अन्दाजी ६० वर्षीय पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । मिनि ट्रिफरको ठक्करबाट पुरुष गम्भिर घाइते भएका थिए । घाइते पुरुषलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा शनिबार बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । चालक महाभारत गाउँपालिका–४, बस्ने ३१ वर्षीय पदम लामालाई नियन्त्रणमा लिई घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।