नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीलाई ज्ञापनपत्र बुझाउँदै नेकपाका कार्यकर्ताहरु ।

हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष नेताहरुबीच जारी तनाव र असहमतिको विषयलाई लिएर मकवानपुरका कार्यकर्ताले खबरदारी गरेका छन् । मंगलबार मकवानपुरमा नेकपाका कार्यकर्ताले जिल्ला नेतृत्वमार्फत केन्द्रीय नेतृत्वलाई खबरदारी गर्दै ज्ञापनपत्र बुझाएका छन् । पार्टी एकता, पार्टीमा विधि, विधान र पद्दतिको माग गर्दै कार्यकर्ताले ज्ञापनपत्र बुझाएका हुन् ।

मकवानपुर जिल्लाका युवा कार्यकर्ताको एक समूहले मंगलबार जिल्ला पार्टी कार्यालयमा प्रदर्शन गरेर जिल्ला नेतृत्वलाई ज्ञापनपत्र बुझाएका छन् । नेकपाका प्रकाश पाण्डेले नेकपा मकवानपुरमार्फत नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीलाई ज्ञापनपत्र बुझाउनुभएको हो । प्रकाश पाण्डेले नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीलाई ज्ञापनपत्र बुझाउनुभएको हो । पाण्डेले ज्ञापनपत्र वाचन गरेर बुझाउनुभएको हो । पार्टीको केन्द्रीय सचिवालय र स्थायी कमिटीमा देखिएको विवाद र असहमतिबाट कार्यकर्तामा निराशा छाएको ज्ञापनपत्रमा उल्लेख छ । जनताको विश्वास र मतले केन्द्र, प्रदेश र स्थानीय तहमा बलियो बहुमतको सरकार रहेको उल्लेख गर्दै यस्तो बेलामा सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको, पार्टीको आन्तरिक एकतालाई बलियो बनाउन खेल्नु पर्ने भूमिकामा समस्या देखिएको, पार्टीका शीर्ष तहमा भइरहेको कटाक्ष र मनमुटावका कारण सिंगो कार्यकर्ता चिन्तित भएको जनाएको छ ।

विभाजन र गुटमा नभई एकता र सिद्धान्तमा पार्टी चल्नुपर्ने, कार्यकर्ताको भावनालाई बुझ्नुपर्ने, राष्ट्र, राष्ट्रियता र सरकारको नाममा संगठित एवम् असंगठित रुपमा पार्टी विभाजनको विजारोपणप्रति पनि सचेत हुन कार्यकर्ताले आग्रह गरेका छन् । नेतृत्वलाई पार्टी फुटसम्मको हर्कत गर्ने गराउने प्रवृत्तिको घोर भत्र्सना गर्दै पार्टी एकताको पक्षमा रहन, आमसञ्चार तथा सामाजिक सञ्जालमा पार्टी एकता विरुद्ध हुने अभिव्यक्ति नियन्त्रण गर्न पनि पार्टी नेतृत्वसँग माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले पार्टीको एकता र मजबुतीका लागि युवा विद्यार्थीको प्रयास सराहनीय भएको उल्लेख गर्नुभयो । उहाँले पार्टीको शीर्ष नेतृत्वमा भइरहेको विवाद र संघर्षले आफूहरुलाई पनि असहज भइरहेको उल्लेख गर्नुहुँदै रुपान्तरणसहितको एकताका लागि संघर्ष हुनुपर्ने बताउनुभयो । पार्टीलाई एकताबद्ध र बलियो बनाइराख्न यस किसिमको पहल सकारात्मक भएको पनि नेता पुलामीको भनाइ थियो । नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले कार्यकर्ताको ज्ञापनपत्र नेकपा केन्द्रीय सदस्य एवम् जिल्ला सहइन्चार्ज कुमारी मुक्तानलाई हस्तान्तरण गर्नुभयो ।

केन्द्रीय सदस्य कुमारी मुक्तानले लामो समयदेखि कम्युनिष्ट आन्दोलनले संघर्ष गरेको स्मरण गर्नुहुँदै पार्टीको केन्द्रमा भइरहेको अन्तरविरोधले पार्टीलाई हानी पुग्ने डर भएको बताउनुभयो । उहाँले अन्तरविरोधले पार्टीलाई सहयोग नै पुग्नुपर्ने विश्वास व्यक्त गर्नुहुँदै राष्ट्र बचाउन, राष्ट्रकै निमित्त अन्तरसंघर्ष भइरहेको भन्नुहुँदै उहाँले अनावश्यक एजेन्डामा छलफल नभएको भन्दै कार्यकर्तालाई सकारात्मक नतीजाको अपेक्षा गर्न आग्रह गर्नुभयो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेकपा मकवानपुरका नेताहरु बद्रि लम्साल, श्रीधर पोखरेल, एकालाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो । यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नेकपाका कार्यकर्ताले प्रदर्शन गरेका थिए ।