हेटौँडाः धादिङ जिल्लाको धुनिवेशी नगरपालिका–२, भैंटारमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया सुन्तली राई रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मंगलबार दिउँसो ३ बजेको समयमा सुन्तली घाँटीमा टन्सिल भई स्थानीय औषधी पसलबाट औषधि खाएको ४ घण्टापछि बेहोस भएकी थिईन् । बेहोस सुन्तलीलाई उपचारका लागि ग्रीन सिटि अस्पताल काठमाडौं लगिएकोमा उपचारको क्रममा राती ८ बजेर ३८ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार बिहान २ बजेको समयमा धुनिवेशी नगरपालिका–९ जुगेडीमा रहेको पाल्पा सिलिटो मेडिकल हलका सञ्चालक ५५ वर्षीय हरेन्दा राई र छोरा २१ वर्षीय मनिटम राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खानिखोला लगी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यस्तै चितवन जिल्लाको भरतपुर महानगरपालिका–६, देवनगरमा एक महिला मृत फेला परेकी छिन् । मृत फेला पर्नेमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–९, जिलिङ घर भई हाल रत्ननगर नगरपालिका–९, खगेरी बस्ने ३३ वर्षीया बविता भट्ट रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । मंगलबार दिउँसो २ बजेर ३७ मिनेटको समयमा भट्ट बीस हजारी तालको गेट नजिक खगेरी सिंचाइ नहरमा मृत अवस्थामा फेला परेकी थिईन् । भट्ट सिचाइको पोखरी फार्ममा काम गर्दै आएको प्रहरीले जनाएको छ ।