हेटौँडाः बागमती प्रदेशमा पहिलो पटक कांग्रेसको नेतृत्वमा सरकार गठन हुँदैछ । संघीयता कार्यान्वयन पश्चात बागमतीमा पहिलो पटक एमाले–कांग्रेस गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले बागमती सरकारको नेतृत्वको अवसर पाएको हो ।
संघीयता कार्यान्वयनको ७ वर्षे अवधिमा अधिकांश समय प्रतिपक्षमा रहेको कांग्रेस विगत ३ वर्ष सत्ता साझेदार बनेको थियो । २०७८ कात्तिकमा सत्ता साझेदारी गर्दै सरकारमा गएको कांग्रेसले नेतृत्व भने प्राप्त गर्न सकेको थिएन । आधा आधा समय सरकारको नेतृत्व गर्ने लिखित सहमति बनेपनि कांग्रेसले राजनीतिक स्थिरताका लागि सरकार परिवर्तन गर्न चाहने र तत्कालिन गठबन्धनबाट एकीकृत समाजवादीलाई सरकारको नेतृत्व छाडेको थियो ।
कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट २०७८ मा कांग्रेससहितको समीकरणबाट एकीकृत समाजवादी पार्टीका राजेन्द्र प्रसाद पाण्डेले बागमती प्रदेश सरकारको नेतृत्व पाए । १४ महिने सो सरकारमा मुख्यमन्त्री त्याग गरेर निर्वाचनको तयारीमा लागेको कांग्रेसले २०७९ पुसमा गठित सरकारमा पनि स्थान पाउन सकेन । २ महिना प्रतिपक्षमा रहेको कांग्रेस चैतमा मात्र सरकारमा फर्कियो ।
एमाले, माओवादी केन्द्र र राप्रपाको गठबन्धन सरकार २ महिनामा ढलेपछि २०७९ चैतमा सरकारमा कांग्रेस सहभागी भएको थियो । सो समयमा पनि मुख्यमन्त्रीको सशक्त दावी गरेको कांग्रेसले माओवादी केन्द्रलाई सरकारको नेतृत्व दिएको थियो । एक वर्षपछि २०८० फागुनमा फेरि त्यो समीकरण भत्कियो । सो लगत्तै सरकारबाट कांग्रेस बाहिरियो र केन्द्रको भन्दा फरक समीकरणबाट सरकार गठनको कसरतमा जुट्यो । तर, कांग्रेसको सो प्रयास असफल बन्यो । अन्ततः पुनः माओवादी केन्द्र कै नेतृत्वमा एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबिच सत्ता साझेदारी हुँदा कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा पुग्यो ।
कांग्रेस विगत ४ महिनादेखि प्रमुख प्रतिपक्षको भूमिकामा रहँदै आएको छ । संघीयता कार्यान्वयनपछि भएका २ वटा निर्वाचन पश्चातका अधिकांश समय कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामै रहँदै आएको छ । २ कार्यकालको ७ वर्षे अवधिमा कांग्रेस २६ महिनामात्र सरकारमा रह्यो । सो बाहेकका अधिकांश समय प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्दै आएको छ ।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाको शपथ ग्रहण कार्यक्रम आज बुधबार हुने भएको छ । बुधबार विहान ११ः११ बजेको समयमा प्रदेश प्रमुख कार्यालय हेटौँडामा सपथ ग्रहण कार्यक्रम तय भएको छ । मंगलबार साँझ ५ बजे प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को २ अनुसार लामालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । एमालेका २७ र कांग्रेसका ३७ सहित ६४ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएका लामासहित १३ मन्त्रीको सपथ ग्रहण कार्यक्रम हुने प्रदेश प्रमुख कार्यालयले तयारी गरेको छ ।
मुख्यमन्त्री लामासहित एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण प्रसाद सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन कुमार मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउनुहुनेछ । कांग्रेसले ६ जना मन्त्रीको टुंगो लगाउन सकेको छैन । कांग्रेसले भोलि बिहानसम्ममा मन्त्रीको टुंगो लगाएर एकसाथ सपथ गराउने तयारी गरेको बुझिएको छ ।
कांग्रेसको भागमा परेको ६ मन्त्रालयका लागि दर्जन बढी प्रदेश सभा सदस्यको नाम चर्चामा रहेको छ । आकांक्षी बढी हुँदा कांग्रेसले मन्त्री टुंग्याउन सकेको छैन । कांग्रेसको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय परेको छ ।