कांग्रेसको भातृ संगठन नेविसंघको राजनीति गर्दै पार्टी राजनीतिमा होमिएका बहादुर सिं लामा केन्द्रीय समिति सदस्य हुनुहुन्छ । स्व. दिप बहादुर लामा तामाङ र आमा स्व. पूर्णिमाया लामा तामाङको पुत्र लामा २०२७ कात्तिक ८ गते नुवाकोटको किस्पाङ्ग गाउँपालिका– ५, मनकामनामा जन्मनुभएको हो ।
सामान्य परिवारमा जन्मनुभएका लामा सानै उमेरदेखि अब्बल र हक्की स्वभावका हुनुहुन्थ्यो । लामाले गाउँकै विद्यालयबाट आधारभुत तहको शिक्षा हासिल गर्नुभयो भने माध्यमिक तह अध्ययनका लागि नुवाकोटको सदरमुकाम विदुर झर्नुभयो । काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातक तहको अध्ययन गर्नुभएका लामा निर्माण व्यवसायमा संलग्न हुनुभयो । क्यापस पढ्न काठमाडौं पुग्नुभएका लामाले २०४३ मा नेवि संघको सदस्यता लिनुभयो । २०४५ सालमा नेविसंघ नुवाकोट क्षेत्रीय सभापति हुँदै पार्टीको सक्रिय राजनीतिमा होमिनुभएका उहाँ कांग्रेस नुवाकोटको जिल्ला उपसभापति हुनुभयो । २०५४ को स्थानीय तहको निर्वाचनमा नुवाकोट तत्कालीन मनकामना गाविस अध्यक्षमा निर्वाचित हुनुभएका लामा पार्टीको १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभयो ।
२०६४ सालमा नुवाकोट क्षेत्र नम्बर–३ बाट संविधानसभा सदस्य पदको निर्वाचनमा झिनो मतान्तरले पराजित हुनुभएका उहाँ २०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी हुनुभयो । सो निर्वाचनमा उहाँले नेकपा माओवादी केन्द्रका तत्कालिन महासचिव पोष्टबहादुर बोगटीलाई भारी मतले पराजित गर्नुभएको हो । २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएका लामा २०७९ मा बागमती प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो । २०७९ चैत २६ गते प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका लामा एमाले कांग्रेस गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएको हो । लामा देशकै पहिलो तामाङ समुदायको मुख्यमन्त्री बन्नुभएको छ ।