हेटौँडाः बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिं लामा नियुक्त हुनुभएको छ । नेपाली कांग्रेस संसदीय दलको नेता लामालाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले मंगलबार दिनको ५ बजे मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा १६८ (२) अनुसार लामा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । लामालाई एमाले र कांग्रेसका ६४ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ । लामाको नेतृत्वमा १३ सदस्यीय प्रदेश सरकार गठन हुँदैछ । सत्ता साझेदार दल नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालय र नेकपा एमालेले ६ मन्त्रालय लिने सहमति भएको छ । नेकपा एमालेले ६ जना मन्त्री छानेर मन्त्रालय समेत भागबण्डा गरिसकेको छ भने नेपाली कांग्रेसले मन्त्री छानिसकेको छैन ।
प्रदेश प्रमुख यादव चन्द्र शर्माले साउन ८ गते मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आव्हान गर्नुभएको थियो । यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते आइतबार प्रदेश सभामा सम्वोधनपछि प्रदेश प्रमुख शर्मा समक्ष राजिनामा बुझाउनुभएको थियो ।