शिविरमा आँखा जाँच गरिँदै ।

हेटौँडाः हेटौँडा–१९ मा मधुमेह र आँखाको पर्दा जाँच शिविर सुरु भएको छ । मंगलबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले शिविरको उद्घाटन गर्नुभयो ।

टोल विकास संस्था नगर समन्वय समिति र हेटौँडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा शिविर भएको हो । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धु्रव अधिकारीका अनुसार मंगलबार वडा नम्बर १९ स्थित तपोवन टोल विकास संस्थामा मधुमेहका बिरामी तथा ५० वर्षभन्दा बढी उमेर भएकाहरुको आँखाको पर्दा जाँच गर्ने कार्य सुरु भएको छ ।

कार्यक्रम साँझसम्म चल्ने अध्यक्ष अधिकारीले बताउनुभयो । जाँच गर्दा समस्या देखिएकाहरुलाई उपचारका लागि सहजीकरण गरिदिने उहाँले बताउनुभयो । बीमा भएकाहरुलाई बीमाबाट र आर्थिक अवस्था कमजोर भएकाहरुलाई नगरले नै उपचार गरिदिने अध्यक्ष अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार अब नगरभित्रका अरु सबै वडाहरुमा मधुमेह र आँखा जाँचका कार्यक्रमहरुलाई तीव्र बनाइनेछ ।

कार्यक्रममा हेटौंडा–१९ का वडाध्यक्ष नरनाथ सुवेदी, हेटौंडा आँखा अस्पतालका प्रमुख डा. सुनिल थकाली, प्रशासन प्रमुख सुधीर श्रेष्ठ र वडा टोल समन्वय समिति हेटौंडा–१९ का अध्यक्ष देवेन्द्र अर्याल लगायतको उपस्थिति रहेको थियो ।