हेटौंडाः तेक्वान्दो खेलको विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई सम्मान गरिएको छ । आइतबार हेटौंडा–१७, तहटियामा ६ जना खेलाडीलाई सम्मान गरिएको हो ।
क्रियटिभ तेक्वान्दो डोजाङले ४ जना छात्रा र २ जना छात्र गरी ६ जनालाई सम्मान गरेको जनाएको छ । चौथो संस्करणको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दोमा ३९ केजी तौल समूहमा प्रथम, पुम्से विधामा प्रथम र चन्द्रागिरी राष्ट्रिय प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल आदित्य पराजुली सम्मानित भएका छन् ।खुला राष्ट्रिय तेक्वान्दोमा २० केजी तौल समूहमा प्रथम र चन्द्रागिरी तेक्वान्दोमा २० केजी तौल समूहमा दोस्रो र पुम्से विधामा प्रथम आरुषी पराजुलीलाई सम्मान गरिएको छ । ४१ केजी तौल समूहमा तृतीय, ३८ केजीतौल समूहमा तृतीय र पुम्से विधाम द्वितीय आदित्य ढकाललाई सम्मान गरिएको हो । यस्तै, पुम्से विधामा तृतीय रिवानी अधिकारी र महिलातर्फ ३२ केजी तौल समूहमा प्रथम इच्छा विष्ट सम्मानित भएका छन् ।
चन्द्रागिरी तेक्वान्दोमा तृतीय प्रिन्स ढकाललाई पनि सम्मानपत्रसहित सम्मान गरिएको छ । प्रतियोगिता आयोजनाका लागि सहयोग गर्ने सहयोगी दाताहरुलाई मायाको चिनो प्रदान गरिएको छ ।राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्यसमिति मकवानपुरका अध्यक्ष मदनकुमार श्रेष्ठको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले आफ्नो भूमिकालाई राम्ररी निर्वाह गरेर दायित्वका साथ अगाडि बढेर हेटौंडालार्ई खेलकुदमय बनाउनुपर्ने बताउनुभयो । युवाहरुलाई खेल प्रतियोगितामा जोडेर स्वस्थ बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।नगर प्रमुख लामाले बंगलादेशको राजधानी ढाकामा हुने अन्तर्राष्ट्रिय तेक्वान्दोमा सहभागी हुनका लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो । उहाँले निर्माणाधीन कभर्ड हल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।वि.सं २०७७ साल असोज ४ गते हरिबहादुर महतले हेटौंडा १७ मा जग्गा उपलब्ध गराएर २०७८ सालमा वडाको ४ लाख र जनश्रमदानबाट १ लाख २६ हजार गरी ५ लाख २६ हजारको पिलरमात्र उठाउने काम भएकाले नगरपालिकामार्फत् बजेट लगानी गर्ने बताउनुभएको हो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, कार्यालय प्रमुख माधव कोइराला, मकवानपुर जिल्ला फुटबल संघका महासचिव छवि सुवेदी र जिल्ला खेलकुदका सदस्य मदन उप्रेतीलगायत विभिन्न खेल क्षेत्रमा आवद्ध भएका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।