हेटौँडाः बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं लामाको दावी पेश कार्यक्रम स्थगित गरिएको छ । बिहान १० बजेको समय निर्धारण गरिएपनि अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको हो ।

प्रदेश प्रमुख कार्यालय हेटौंडामा बिहान १० बजेका लागि समय माग गरिएको भएपनि अन्तिम समयमा स्थगित भएको प्रदेश सभा सदस्य कुन्दनराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार समय सीमा बाँकी नै रहेकाले कार्यक्रम स्थगित गरिएको हो । सोमबारको कार्यक्रम स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।

काँग्रेस एमाले गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी गरेका लामाले मंगलबार मात्र दावी गर्ने उहाँले बताउनुभयो । लामाले मंगलबार बिहान १०/११ बजे मुख्यमन्त्रीमा दावी गर्ने उहाँको भनाई छ । एमाले र काँग्रेसको सहमतिमा नै लामाको मुख्यमन्त्रीमा दावी गर्ने कार्यक्रम रोकिएको उहाँले बताउनुभयो । आज गरेपनि भोलि गरेपनि कुनै समस्या नरहेकाले मंगलबार गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

सत्ता समीकरण परिवर्तनपछि अल्पमतमा परेका प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार पदबाट राजिनामा दिनुभएको थियो । उहाँको राजिनामा पछि प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दावी गर्न आह्वान गर्नुभएको थियो । आइतबार सूचना जारी गरेर साउन ८ गते साँझ ५ बजेसम्म दावी पेश गर्न आह्वान गरिएको थियो । सोही अनुसार एमालेका २७ र काँग्रेसका ३७ जना गरी ६४ जना प्रदेश सभा सदस्यको समर्थनमा कांग्रेस संसदीय दलका नेता लामाले सरकारमा दावी गर्ने तयारी गर्नुभएको थियो ।