लागुऔषधसहित पक्राउ परेका गिरी ।

हेटौँडाः मकवानपुर प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । शुक्रबार राती ८ बजेको समयमा हेटौँडा–१०, बसपार्क क्षेत्रबाट लागुऔषध नुर्फिन १८ एम्पुल, फेनर्गन १८ एम्पुल र डाईजेपाम १८ एम्पुलसहित पर्सा जिल्लाको पोखरिया नगरपालिका–१ का २८ वर्षीय विवेक कुमार गिरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ ख ५२२५ नम्बरको बसबाट शंकास्पद अवस्थामा ओर्लिएका गिरीलाई प्रहरीले खानतलासी गर्दा गिरीले पेट र छातीको भागमा प्लाष्टिक बेरी लागुऔषध तस्करीको प्रयास गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले मकवानपुर जिल्ला अदालतबाट ८ दिनको म्याद अनुमति लिई गिरीलाई हिरासतमै राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।