सांकेतिक तस्वीर ।

हेटौँडाः बागमती प्रदेशको तीन जिल्लामा विभिन्न घटनामा परी पाँच जनाको मृत्यु भएको छ । काभ्रेमा तीन जना, चितवन र सिन्धुलीमा एक–एक जना गरी पाँच जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

शनिबार काभ्रेको मण्डनदेउपुर नगरपालिका–११ स्थित चाँखोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडास्थित जैसीटोलका २६ वर्षीय मिलन काफ्ले रहेको प्रहरीले जनाएको छ । शनिबार बिहान ११ बजेर ५० मिनेटको समयमा कुन्तावेशीबाट पाँचखालतर्फ जाँदै गरेको बा ३५ प ३१४० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर पुलबाट ३० फिट तल खस्दा चालक काफ्््ले गम्भीर घाइते भएका थिए । काफ्लेलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा दिउँसो ३ बजेर ४५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको हो ।

यस्तै शनिबार काभ्रेको धुलिखेल नगरपालिका–३ मा एक्कासी बिरामी परेका एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार बेलुका सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित टेकानपुरकी ४१ वर्षीया गीता तामाङ बोहोरा फुपुको घरमा पाहुना आएकोमा शनिबार बिहान एक्कासी बिरामी भएका थिए । हात खुट्टा नचल्ने बिरामी भएका बोहरालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएकोमा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै शुक्रबार काभ्रेको धुलिखेल नगरपालिका–७ मा एक महिला मृत भेटिएका छन् । मृतक महिला उदयपुरको कटारी नगरपालिका–४ की ३८ वर्षीया उमा बोगटी रहेको प्रहरीले जनाएको छ । बोगटी आफ्नै कोठामा मृत अवस्थामा फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ स्थित बागमती नदीमा एक बेवारिसे शव फेला परेको थियो । नदीमा अन्दाजी २५ वर्षीय पुरुषको बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले पुरुष मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस्तै चितवनको खैरहनी नगरपालिका–८ स्थित चैनपुर चोकबाट अचेत अवस्थामा उद्दार गरेका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । गत मंगलबार अचेत अवस्थामा फेला पारी उद्दार गरेका अन्दाजी ३२ वर्षीय पुरुषको उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा शनिबार मृत्यु भएको हो । मृतक पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।