मुख्यमन्त्री शालिकराम जम्कट्टेल

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीयता र संविधान कार्यान्वयनमा आशंका व्यक्त गर्नुभएको छ । उहाँले वर्तमान सत्ता गठबन्धनको अन्तर्य स्पष्ट नभएकाले संविधान र संघीयता माथि थप चुनौती देखिएको टिप्पणी गर्नुभयो ।

आइतबार १८ महिना अवधिको (आफ्नो कार्यकाल) प्रगति विवरण सार्वजनिक गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले एमाले कांग्रेस गठबन्धन संविधान संशोधन र राजनीतिक स्थिरताका लागि मात्र नभएको बताउनुभयो । एमाले कांग्रेस गठबन्धनबाट प्रधानमन्त्री बन्नुभएका केपी शर्मा ओली संविधानको मर्म र संघीयता अनुसार प्रदेश सरकारहरुलाई अधिकार दिन नचाहने प्रवित्ति रहेको उहाँको भनाई छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा संघीयता र प्रदेश सरकारको अधिकारको विषयमा बहस र छलफल नहुने उहाँले बताउनुभयो । संविधान र संघयिता माथि प्रधानमन्त्री ओलीको हस्तक्षेप हुने उहाँले आशंका व्यक्त गर्नुभयो । ‘वर्तमान सत्ता गठबन्धनको अन्तर्य स्पष्ट छैन । यो गठबन्धन सरकार निर्माण, संविधान संशोधन र अस्थिरताको अन्त्यमा मात्र सिमित छैन । यो गठबन्धन किन बन्यो त्यसको मैले व्याख्या गर्नुपर्छ जस्तो लाग्दैन । संघीयता कता जन्छ, आशंका छ । राजनीतिक अस्थिरता पहिले पनि थियो । त्यति बेला किन स्थिरताको विषयमा सोचिएन ?’ उहाँले प्रश्न गर्नुभयो, ‘संविधान र संघीयता कार्यान्वयनमा आशंका छ । संघीयता कता जाँदैछ चिन्ताको विषय हो । केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रदेशका अधिकारका बारेमा छलफल हुँदैन । प्रदेशलाई सरकारको मान्यता दिइदैन ।’

वर्तमान गठबन्धन सरकारका कारण संघीयता, प्रदेश सरकार रहन्छ÷रहन्न भन्ने आशंका रहेको उहाँले बताउनुभएको छ । ओली प्रधानमन्त्री भएपछि प्रदेश र स्थानीय सरकार नै भन्न नपाइने उहाँको भनाई छ । सरकारका कारण उत्पीडित वर्गको अधिकार सुनिश्चितता नहुने अवस्था निम्तिने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलका अनुसार प्रधानमन्त्री ओली प्रदेश र स्थानयि सरकारलाई केन्द्रको अंगको रुपमा लिने गरेका छन् । संविधानको कार्यान्वयन गर्दै संघीयता बलियो बनाउन प्रदेश र स्थानीय तहलाई अधिकार हस्तान्तरण हुन जरुरी रहेको उहाँले बताउनुभयो । उक्त विषयमा यस संघीयता र संविधानको पक्षधरहरु एकताद्द हुनुपर्नेमा मुख्यमन्त्री जम्कट्टेलको जोड छ ।