हेटौँडाः भुटनदेवी माविका पूर्वविद्यार्थीहरुको समूह भुटनदेवी हाई स्कुल मैत्री समूह–२०३१ ले भुटनदेवी माध्यमिक विद्यालयका ३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । आइतबार बिहान एक कार्यक्रमको आयोजना गर्दै मैत्री समूहले जिल्लास्तरीय वार्षिक परीक्षामा विद्यालय प्रथम भएका दुई जना छात्र र एक जना छात्रालाई छात्रवृत्ति वितरण गरेको हो ।
कार्यक्रममा छात्रतर्फ अमन साह बनियाँ र सुभम प्रसाद जैसवाल तथा छात्रातर्फ सुनैना घिमिरेलाई प्रमाणपत्रसहित १० हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको हो । कार्यक्रममा मैत्री समूहले गुरुपूर्णिमाको अवसरमा आफुहरुलाई अध्यापन गराउनु भएका शिक्षक मुना धिताल अर्याललाई दोसल्ला ओढाई सम्मान गरेको छ ।
समूहका अध्यक्ष लवनाथ रिजालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य रहेको थियो । मैत्री समूह–२०३१ ले छात्रवृत्ति वितरणको कार्य गर्दै आएको छ । भुटनदेवी माध्यमिक विद्यालयमा करिब २ हजार ३ सय जना विद्यार्थी अध्ययनरत छन् ।