हेटौँडाः जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक बर्ष २०८०/८१ को बार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले इमेल मार्फत बुधबार उपलब्ध गराएको विवरणअनुसार आर्थिक बर्ष २०८०/८१ मा बारा जिल्लामा १ सय ६३ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये बालबालिका मात्रै ३१ जना रहेका छन् ।
२४ बालिका र ७ बालकले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आत्महत्या गर्ने वयस्क पुरुष ६४ जना र महिला ६८ जना रहेको प्रहरीले जनाएको छ । आर्थिक बर्ष २०७८/७९ मा १ सय ३९ जनाले आत्महत्या गरेका थिए भने आर्थिक बर्ष २०७९/८० मा १ सय २१ जनाले आत्महत्या गरेका थिए । यस्तै आर्थिक बर्ष २०८०/८१ मा बारा प्रहरीले लागुऔषधसम्बन्धी ९२ वटा मुद्दा दर्ता भएको र १ सय ३७ जना पक्राउ परेको जनाएको छ । यसअघिका दुई आर्थिक बर्षमा क्रमशः ७५ वटा लागुऔषध मुद्दामा १ सय २३ जना र ९५ वटा मुद्दामा १ सय ३८ जना पक्राउ परेका थिए ।
बारा प्रहरीले आर्थिक बर्ष २०८०/८१ मा लागुऔष गाँजा २ हजार ५४ केजी, चरेश ४५ केजी २३ ग्राम र खैरो हेरोइन ५ सय ६९ ग्राम बरामद गरेको जनाएको छ । आर्थिक बर्ष २०८०/८१ मा भन्सार छलेर भित्रिएका तथा अन्य राजश्व छलीका ५७ करोड ४० लाख ३५ हजार रुपैयाँ बराबरको सामान बरामद भएको जनाएको छ । भन्सार छलेर भित्र्याइएका सामानहरु भन्सार कार्यालय बीरगन्ज र अन्य राजश्व छलीका सामान आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाइएको जनाएको छ ।
