हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले विज्ञान संकायतर्फको अध्यापनको समय थप गरेको छ । विज्ञान संकायमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बिहान १० बजेर ४५ मिनेटमा पठनपाठन सुरु भई दिनको साढे ३ बजेसम्म पठनपाठन हुँदै आएकोमा आज बिहिबारदेखि बिहान साढे १० बजेदेखि पठनपाठन सुरु गरी साँझ ५ बजेसम्म पठनपाठन सञ्चालन गरिएको क्याम्पस प्रमुख यमबहादुर सिलवालले जानकारी दिनुभएको छ ।
प्रमुख विषयहरुमा विद्यार्थीको प्रभावकारी सिकाईका लागि समयावधि थप गरिएको क्याम्पस प्रमुख सिलवालको भनाइ छ । जीवविज्ञान, रसायनशास्त्र, भौतिकशास्त्र, गणित, कम्प्युटर विज्ञान विषयमा थप कक्षा सञ्चालन गरिएको उहाँको भनाइ छ । कक्षा १२ सँगै कक्षा ११ मा पनि विस्तारित ढाँचामै पठनपाठन गरिने क्याम्पस प्रमुख सिलवालले स्पष्ट पार्नुभएको छ । कक्षा ११ मा नयाँ भर्ना जारी रहेको जानकारी दिनुहुँदै यही साउन ९ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु गरिने उहाँले बताउनुभयो ।
सामुदायिक क्याम्पसको रुपमा सञ्चालित मकवानपुर बहुमुखी क्याम्पसमा मध्यम र निम्न आर्थिक अवस्थाका परिवारका विद्यार्थीले अध्ययन गर्ने भएकोले सहुलियतसँगै गुणस्तरीय र प्रतिस्पर्धी शिक्षा प्रदान गर्नुपर्ने आवश्यकतालाई महसुस गरी थप सुधारका कार्य गरिने क्याम्पस प्रमुख सिलावलले बताउनुभएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा ११ र १२ सँगै स्नातक र स्नात्तकोत्तर तहमा पठनपाठन भइरहेको छ ।