नेपाली पञ्चाङ्गअनुसार वैशाख, जेष्ठ, असार, श्रावण, भाद्र, आश्विन, कार्तिक, मंशीर, पौष, माघ, फाल्गुण र चैत्र गरी १२ महिना रहेका छन् । ती १२ महिनाहरुको आफ्नै विशेषताहरु छन् । चैत्र, वैशाख वसन्त, जेष्ठ, असार ग्रीष्म, श्रावण, भाद्र वर्षा, आश्विन, कार्तिक शरद, मंसिर, पौष हेमन्त र माघ, फागुन शिशिर गरी १२ महिनालाई ६ ऋतुमा बाँडिएको पाइन्छ । ६ ऋतुहरुको पनि आ–आफ्नै विशेषता रहेका छन् ।
नक्षत्र र पूर्णिमाको योगका आधारमा हाम्रा महिनाका नाम रहेका छन् । श्रवन नक्षत्रयुक्त पूर्णिमा हुने भएकोले यस महिनाको नाम श्रावण रहेको हो । पूर्वीय सभ्यताअनुसार दिन, बार तिथि, पक्ष, महिना ऋतु आदि समयचक्रको निर्धारण सूर्य र चन्द्रमाले गर्ने भएकोले महिना पनि सूर्य र चन्द्र अनुसार दुई किसिमका हुन्छन् । सूर्यका आधारमा हुने महिनालाई सौर महिना र चन्द्रमाको आधारमा हुनेलाई चन्द्रमास भनिन्छ । श्रावणमा सूर्य कर्कट राशिमा विचरण गर्दछन् । त्यसैले सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिनलाई श्रावण संक्रान्ति वा कर्कट संक्रान्ति भनिन्छ ।
श्रावण कृष्णप्रतिपदादेखि श्रावण शुक्लपूर्णिमासम्म चन्द्रमाका आधारमा हुने श्रावण महिना हो । धार्मिक, साँस्कृतिक दृष्टिले चन्द्र महिनालाई महत्वको रुपमा हेरिन्छ । स्कन्दपुराण अनुसार श्रावण माहात्म्यमा श्रावण महिनामा पर्ने प्रत्येक बार र तिथिको महत्व बताइएको छ त्यसैले अन्य महिनामा भन्दा श्रावण महिनामा गरेका शुभ कर्मको बढी फल प्राप्त हुने कुरा उल्लेख गरिएको छ । वैदिक सनातनीहरुले श्रावण महिना धार्मिक कार्यहरू गर्नका लागि उत्तम महिना मान्छन् ।
हरिशयनी एकादशीदेखि सुरु भई हरिबोधिनी एकादशीमा समाप्त हुने चतुर्मासको पहिलो महिना र शिवोपासनाको महिना भएकाले यसको महत्व धेरै छ । श्रावण महिना शिवजीको प्रिय महिना भएकोले यस महिनामा गंगा स्नान गरी शिवजीलाई गंगाजल चढाउने बोलबमको परम्परा पनि चल्दै आएको छ ।
नेपाली पञ्चाङ्गअनुसार श्रावण चौथो महिना हो । संस्कृतको श्रावण महिना अपभ्रंश भएर नेपालीमा साउन भएको हो । शास्त्रमा साउनलाई सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ । साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्व दिइएको पाइन्छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटा अनि रात लामा हुन थाल्छन् । यो क्रम माघे संक्रान्तिसम्म रहन्छ । ज्योतिष विज्ञानअनुसार साउन अर्थात् श्रावण महिनाको पूर्णिमाका दिन आकाशमा श्रवण नक्षत्रको योग निर्माण हुन्छ । त्यसैले यो महिनाको नाम श्रावण रहेको हो ।
पूर्वीय दर्शनअनुसार साउन महिनामा भगवान शिवको आराधना गर्ने, उपवास बस्ने, शिव लिंगमा जल चढाउनाले घरमा सुख, समृद्धि मिल्छ भन्ने विश्वास छ । नेपाल प्राकृतिक सौन्दर्यले निकै धनी देश हो । यहाँका खोला, नाला, पहाड, पर्वत र हिमालका चुलीले जो कोहीको पनि मन लोभ्याएको पाइन्छ । साउन महिना वरीपरी हरियो वातावरणले झन् प्राकृतिक सुन्दरता बढाएको देख्न सकिन्छ ।
हाम्रो देश नेपाल विभिन्न धर्म र संस्कार र संस्कृतिले भरिपूर्ण रहेको छ । नेपालीहरुले बार र महिनालाई पनि विशेष महत्वका साथ लिने गरेको पाईन्छ । साउन महिना एक प्रकारले हेर्ने हो भने प्रकृतिसँग नजिक हुने महिना पनि हो यस साउन हरियो महिना हो । साउन महिनाभर हरियो वातावरणले प्राकृतिक शोभायमान बढाएको हुन्छ । नेपाली परिवेशमा हेर्ने हो भने साउन महिना धार्मिक महिना पनि रहेको छ । साउन महिनाभर नेपालमा नेपाली चेलीहरु धर्मिक आस्था र महत्वका साथ भगवान भोलेनाथको व्रत बस्ने गर्दछन् । साउन महिनालाई नेपालीहरुले भगवान भोलेनाथको प्रिय महिनाको रुपमा लिने गरेका छन् ।
साउन महिनामा भगवान भोलेनाथ कैलाश पर्वतबाट पृथ्वीमा भ्रमण गर्न आउनु हुन्छ भन्ने मान्यता पनि रहेको छ । त्यसैले साउनको सोमबार ब्रत बस्नाले भगवान आषुतोषले चाहेको मनोकांक्षा पुरा गरिदिनु हुन्छ भन्ने विश्वास पनि गरिन्छ । यस साउन महिनाभर नेपालीहरु नेपाली र्संस्कार, संस्कृतिभित्र रहेर भगवान भोलेनाथको पुजा आरधना गर्ने गर्दछन् । विशेषगरी साउन महिनामा नेपालका पावन शिव मन्दिरहरुमा श्रद्धालु र व्रतालु भक्तजनहरुको विशेष भिड लाग्ने गर्दछ । हिन्दु धर्म अनुसार भगवान शिवलाई वर्षभरी पुजा गरे तापनि साउन महिनाको सोमबार गरिने पुजालाई विशेष रूपमा हेरिन्छ । साउन महिनामा शिवको पुजा र अराधना गर्दा मानिसका मनोकामना पूरा हुने कुरामा परम्परादेखि नै विश्वास बढ्दै गएको पाउन सकिन्छ । साउन महिना एक प्रकारले हेर्ने हो भने प्रकृतिसँग नजिक हुने महिना पनि मान्न सकिन्छ ।
विशेषगरी साउन महिनामा नेपालका शिव मन्दिरहरुमा पुजाआजाकै लागि भक्तजनहरुको भिड लाग्ने गर्दछ । साउन यस्तो विशेष महिना हो जहाँ साना बालिकादेखि हजुरआमासम्मको एउटै फेसन देख्न पाइन्छ । हातभरी हरियो चुरा र मेहेन्दी अनि हरियो पोते । विवाहित महिलाले साउनमा हरियो चुरा हातमा मेहन्दी लगाउनाले श्रीमान्को आयु बढ्ने र अविवाहित महिलाले लगाए मनले चिताएको पूरा हुने धार्मिक विश्वास पनि रहिआएको छ । साउन महिनाको पनि विशेष रूपमा सोमबारको विशेष महत्व रहेको छ ।
श्रावण शब्द श्रवणबाट बनेको हो जसको अर्थ हुन्छ सुन्नु अर्थात् सुनेर धर्मको मर्म बुझ्नु । सनातन धर्मको प्रमुख ग्रन्थ वेदलाई श्रुति पनि भनिन्छ । श्रुतिको अर्थ नै त्यस्तो ज्ञान हो जुन ईश्वरबाट सुनेर ऋषिहरूले आम मानिसलाई सुनाए । त्यसैले श्रावण अर्थात् साउन महिनालाई पवित्र मानिएको हो । यसलाई आदिगुरु भगवान् शिवको प्रिय महिना पनि मानिन्छ । श्रवण नक्षत्र तथा सोमबारलाई भगवान् शिवको प्रिय महिना र बार मानिन्छ । त्यसैले यो महिनामा शिवलाई खुसी पार्न विशेष धार्मिक अनुष्ठान एवम् रुद्राभिषेकका साथै सोमबारका दिन व्रत बस्ने गरिन्छ ।
साउने संक्रान्तिका दिनदेखि सूर्य मिथुन राशि छोडेर कर्कट राशिमा प्रवेश गर्छन् । नेपालको ग्रामीण भेगमा संक्रान्तिका दिन लुतो फाल्ने परम्परा छ । सनातन धर्मावलम्बीहरूले साउन महिनाभर माछा–मासु, लसुन, प्याज आदि तामसी भोजन बार्ने चलन छ । विशेषगरी साउने सोमबारका दिन महिलाहरूले भगवान् शिवको विशेष आराधना गर्छन् । सनातन हिन्दू परम्पराअनुसार पाँचवटा सोमबार परेको साउन महिनाभर हरियो तथा रातो सौभाग्यका सामग्री लगाएर भगवान् शिवको पूजासहित व्रत बस्दा सौभाग्य प्राप्त हुन्छ भन्ने विश्वास छ ।
साथै सोमबारको व्रत बस्दा अविवाहितले असल र सुन्दर पति पाउने र विवाहितले श्रीमान्को दीर्घायु तथा खुसीका साथै मनले चिताएको कुरा पुग्ने जनविश्वास रहिआएको छ । सोमबार व्रत बस्दा विद्या, व्यापार एवम् खेतीपाती सप्रने विश्वास गरिन्छ ।
हिजोआज साउने सोमबारको व्रतलाई विशेष तरिकाले उत्सवका रूपमा मनाउन थालिएको पाइन्छ । व्रत नबस्ने महिलाहरु पनि हरियो, पहेँलो चुरा र मेहन्दी लगाउँछन् । देशभरका शिवालयमा हरियो चुरा, पोते र रातो पहिरनमा सजिएका युवती तथा महिलाको भीड लाग्छ । हरियो चुरा, हरियो पहिरन लगाउने कुरालाई प्रमाणित गर्न नसकिए पनि साउन महिनामा चारैतिरको प्राकृतिक वातावरण एवम् बोटविरुवा पनि हरियो हुने भएकाले प्रकृति जस्तै हरियो भएर हिँड्नाले भोले बाबा खुसी हुने अधिकांश विद्वान एवम् हिन्दु महिलाहररूको धारण छ । प्राकृतिक रुपले नै साउन महिना जलमय हुने हुँदा जताततै रमणीय एवं हरियाली दृश्य देख्न पाइन्छ । हरियो रङ्ग प्रेम र वातावरणको प्रतीक मानिन्छ । हरियो वस्त्रलाई प्रकृतिको सम्मानका रुपमा लिन सकिने भएकाले त्यसैले साउन महिनाभरि नै हरियो वस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टीका लगाउने चलनलाई प्रकृतिको सम्मानसँग जोडेर हेर्न सकिन्छ । हरियो प्रेम र वातावरणको, रातो सौभाग्यको र पहेँलो पवित्रताको प्रतीक हो । ८० वर्ष पार गरेकी हजुरआमादेखि डेढ दुइवर्षका नातीनीसम्मका हातमा हरिया चुराले सजाएर साउनको स्वागत गरिरहेका हुन्छन् । अहिले साउन भन्नासाथ हरियो रङ्गको पर्यावाची जस्तै लाग्न थालेको छ । महिलाहरूमा साउन महिना लाग्नासाथ हरियो चुरा र पोते लगाउनु पर्छ भन्ने मानसिकता बढेको देख्न पाइन्छ । त्यसैले यो आस्थामय साउन महिनामा हरियो, पहेँलो र रातो सम्मिश्रण गरी श्रृङ्गार तथा कपडा विशेष रुपले लगाइन्छ ।
साउन महिनाभरि हरियो चुरा, हरियो बस्त्र र हत्केलाभरि मेहन्दीले सजिएका किशोरी, युवती र प्रौढहरुलाई देख्दा हिन्दु साँस्कृतिक, संस्कार र विश्वास अझ गाढा हुँदै गएको महसुस गर्न सकिन्छ । अझ हत्केलामा जति बढी गाढा मेहन्दीको रङ्ग बस्यो उति नै श्रीमान्को माया पाइन्छ भन्ने जनविश्वास छ ।
त्यसैगरी साउन महिनाका सोमबार बोलबम भन्दै महिला तथा पुरुष भक्तजनले पवित्र जलशिवालयहरुमा अर्पण गर्ने परम्परा पनि छ । धर्म तथा संस्कृतिविद्हरुकाअनुसार साउन महिना धेरै पानी पर्ने, बाढी पहिरो आएर समाजमा प्राकृतिक दुर्घटना नहोस् भनेर भगवान शिवको पूजा गरिन्छ ।
पौराणिक मान्यताअनुसार पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले भगवान शिवलाई खुसी पार्नका लागि यो महिना विशेष हुन पुगेको हो । महिनाभरि नै शिवको पूजा हुने महिना भने साउन मात्रै हो । शिवलाई जलधार सारै प्रिय छ । प्रकृतिले नै जलधारा लगाउने यो महिना वातावरणीय स्वच्छताका हिसाबले पनि उत्तम मानिन्छ । कृषि कर्मका लागि पनि श्रावण महिना उत्तम मानिन्छ । बिरुवा हुर्कनलाई चाहिने तापमान र वर्षा यो महिनामा उपयुक्त हुन्छ । चारैतिर हरियाली, वर्ष÷झरी, जलप्रवाह, खोलानाला र झरनाको गडगडाहट र संगीतमय ध्वनिले वातावरणलाई मनमुग्ध बनाएको हुन्छ ।