हेटौंडाः जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८०/८१ मा करिब ३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्लाभित्र विभिन्न सवारी साधनहरुलाई कारबाही गरी २ करोड ८३ लाख ४२ हजार ५ सय ४ रुपैयाँ राजस्व संकलन गरेको हो ।
ट्राफिक प्रहरीले सबैभन्दा बढी मोटरसाइकल कारबाहीबाट राजस्व संकलन गरेको छ । ९ हजार ८ सय २१ मोटरसाइकललाई कारबाही गरी ७१ लाख ५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै, ८ हजार ६ सय ९२ ट्रकलाई कारबाही गरी ६९ लाख २३ हजार ५ सय रुपैयाँ र ६ हजार ९ सय ७९ वटा जीप÷कार कारबाहीबाट ५९ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरीले दिएको तथ्यांकअनुसार ६ सय ६३ वटा ट्याक्टरलाई कारबाही गरी ४८ लाख ४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै, २ हजार २ सय ८८ वटा बसलाई कारबाही गरेर १७ लाख ३२ हजार रुपैयाँ र अन्य सवारी साधनबाट २९ लाख ९६ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले अघिल्लो आर्थिक वर्ष २०७९//८० मा ३ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।