हेटौँडाः हेटौँडा अस्पतालमा चिकित्सकदेखि कर्मचारीसम्म कटौति भएसँगै अस्पतालले प्रदान गर्ने सेवा प्रभावित बनेको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयसमेत सम्हालिरहनुभएका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको कर्मचारी कटौती गर्ने निर्णयसँगै बिरामीले पाउने सेवा प्रभावित भएको हो ।
मन्त्रालयले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहतको हेटौँडा अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी १ सय ४५ जनाको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेसँगै कटौतिमा परेको हो । हेटौँडा अस्पताल प्रशासनले आन्तरिक व्यवस्था गर्दै करार सम्झौता नवीकरण नभएका मध्ये चिकित्सक, कर्मचारी गरी एक सय २४ जनालाई एक महिनाका लागि बोलाएको छ । अस्पतालको सञ्चालन तथा व्यवस्थापनबाट माग गर्दा केहि ठोस निर्णय नआएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीधर अर्यालले बताउनुभयो । जसकारण अस्पतालको प्रशासनले सेवामा प्रभाव नपरोस् भनेर छलफलपछि आफैँ आन्तरिक व्यवस्थापन गरेको अर्यालले बताउनुभयो ।
हेटौँडा अस्पतालबाट २ जना विशेषज्ञ चिकित्सक, ४ जना मेडिकल अधिकृत, २ जना रेडियोग्राफर र ११ जना स्टाफ नर्स र २ जना प्रयोगशाला प्राविधिक कटौति भएका थिए । हेटौँडा अस्पतालमा सेवा प्रदान गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी कटौतिमा परेपछि अस्पतालको सेवा प्रवाहमा समस्या परेको अस्पतालको सर्जरी वार्डकी एक नर्सले बताउनुभयो । सर्जरी वार्डबाट दुई जना नर्सको कटौती भएकोले विहान नभ्याउने र इमर्जेसीमा छुटि मिलाउन समस्या पर्ने उहाँले बताउनुभयो ।
यस्तै, अस्पतालको प्रयोगशाला विभागमा दैनिक करिब ५ सय जना सेवा लिन आउने गरेका छन् । प्रयोगशालाका दुई जना प्राविधिक कटौतिमा परेपछि अहिले २९ जनाले सेवा प्रदान गरिरहेको प्रयोगशाला प्राविधिक राजेन्द्र पौडेलले बताउनुभयो । प्रयोगशालाबाट एकैपटक ८ जनाको रगत निकाल्न सकिने व्यवस्था मिलाइएको छ ।
हेटौँडा अस्पतालमा चिकित्सक हुँदा छिटो जाँच हुने गरेको अस्पतालकी सेवाग्राही उषा ढुङ्गानाले बताउनुभयो । करार सम्झौता नवीकरण नगरेर २ जना चिकित्सक कटौति हुँदा बहिरंग सेवा प्रभावित बन्नुका साथै नियमित सेवा प्रवाहमा ढिलाई भएको उहाँको भनाइ थियो । यस्तै अर्की सेवाग्राहि सोमकुमारी चौलागाईले बिरामीको भिडअनुसार डाक्टरले स्वास्थ्य परीक्षण गर्न भ्याउन नसकेर समस्या आएको बताउनुभयो । प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गरेर सहज र प्रभावकारी सेवा प्रदान गर्नुपर्ने अर्का सेवाग्राही उर्गेन लामाले बताउनुभयो । यसैबीच मंगलबार हेटौँडा अस्पतालले विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी र कर्मचारी आवश्यकतासम्बन्धी सूचना प्रकाशन गरेको छ ।ञ