हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । चन्द्रोदय माध्यमिक विद्यालयको परिसरमा भएको कार्यक्रममा ८ नम्बर वडा बालमैत्री शासनयुक्त घोषणा भएको हो ।
शनिबार एक कार्यक्रम बिच हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले वडालाई बालमैत्री घोषणा गर्नुभएको हो । हेटौंडाभित्रको अन्य वडाहरुमध्ये ८ नम्बर पहिलो बालमैत्री शासनयुक्त वडा घोषणा भएका छ ।
वडामा ५१ वटा सूचक पूरा गरेर बालमैत्री वडा घोषणा हुन सफल भएको वडाध्यक्ष रामकृष्ण थापाले बताउनुभयो । बालमैत्री वडा बनाउनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर वडालाई बालमैत्री घोषणा गर्न सफल भएको उहाँले बताउनुभयो ।
८ नम्बर वडाले बालविवाहमुक्त वडा बनाउनका लागि विभिन्न कामहरु गर्दै आएको वडा अध्यक्ष थापाले बताउनुभयो । चालु आर्थिक वर्ष २०८०/०८१ मा वडा कार्यालयले ३ वटा बालविवाहलाई रोकेको र अनाथ, असहाय बालबालिकाको संरक्षणका लागि माइती नेपालसँग सहकार्य गरेको बताउनुभयो ।
नगर प्रमुख लामाले मानिसले आफ्नो जीवनमा विकासको क्रममा कसरी हामीले सिक्यौं र हामी अब्बल भए नभएको बाल्यकालदेखि नै भरपर्ने बताउनुभयो । बालबालिकाको विकासका कारण मानव जीवनको विकास हुने नगर प्रमुख लामाले बताउनुभयो । बालबालिकाको विकास हुने काम नगरेसम्म मानव जीवनलाई बलियो बनाउन नसकिने उहाँले बताउनुभयो ।
नगरपालिका बालबालिकाको चौतर्फी विकास गर्न र अब्बल बालबालिका निर्माण गर्नबाट कहिले पछि नपर्ने उहाँको भनाइ छ । अहिलेको समयमा जीवनयापन नभई जीवनलाई उपयोगी बनाउने र प्रविधिमैत्री जीवनमा सक्षम र दक्ष बनाउनुपर्ने उहाँले बताउनुभयो । जीवनलाई उपयोगी बनाउनका लागि सरकार, अभिभावक, नेतृत्व गर्ने टोल विकास र सामाजिक संस्थाहरुको ठूलो भूमिका हुने उहाँले धारणा राख्नुभयो ।
आफू र आफ्नो समाज कस्तो बनाउने भन्ने कुरा सबैले मूल्यांकन गर्नुपर्ने उहाँले बताउनुभयो । हेटौंडामा बालबालिकाको अधिकार प्रत्याभूत गरेर लैजाने उहाँले बताउनुभयो । संविधान, स्थानीय सरकार सञ्चालन ऐनले गरेको व्यवस्था र हाम्रो कर्तव्य जिम्मेवारी पूरा गर्नुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँ र १९ वटै वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।