हेटौंडाः रोटरी क्लब अफ हेटौंडाको अध्यक्षमा प्रकाश ढकालको पदस्थापन भएको छ । शनिबार हेटौंडा–२ स्थित पल्पसा प्याराडाइज होममा अध्यक्ष ढकालको पदस्थापना भएको हो ।

क्लबको वर्ष २०२३/०२४ का अध्यक्ष स्वागतराज प्याकुरेलको सभाध्यक्षता तथा असिस्टेन्ट डिष्ट्रिक्ट गभर्नर विष्णुप्रसाद शर्माको प्रमुख आतिथ्यमा पदस्थापन कार्यक्रम भएको हो प्याकुरेलले अध्यक्षको पद ढकाललाई हस्तान्तरण गर्नुभएपछि क्लबको ३३ औँ अध्यक्षको रुपमा रोटरी क्लबको वर्ष २०२४/०२५ मा पदस्थापित भएर क्लबका लागि विभिन्न पदमा सदस्यलाई जिम्मेवारी पनि प्रदान गर्नुभएको छ ।

क्लबको इलिक्ट अध्यक्षमा प्रमेश प्रधान, नोमिनी अध्यक्षमा अर्जुन सुवेदी, उपाध्यक्षमा हरिवंश भेटवाल, सचिवमा उमाप्रसाद रौनियार र कोषाध्यक्षमा रोशन सेन गुप्ता रोटरी वर्ष २०२४/०२५ का लागि चयन हुनुभएको छ । एक वर्षका लागि अध्यक्षमा निर्वाचित हुनुभएको ढकालले एक वर्षको कार्ययोजनाका बारेमा जानकारी गराउनुभएको छ ।

उहाँले माइक्रो क्रेडिट कार्यक्रम सञ्चालित समूहहरुमा सिलाईकटाई तथा सेनेटरी प्याड निर्माण सम्बन्धी एड्भान्स तालिम सञ्चालन गरी आत्मनिर्भर भई व्यवसाय सञ्चालनमा सहयोग पु¥याउने बताउनुभयो । राष्ट्रिय रोटरी मावि मनहरी र बालज्योति आधारभूत विद्यालय प्रतापपुरलाई ह्याप्पी स्कूलको अवधारणाअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सहयोग गर्ने योजना प्रस्तुत गर्नुभयो ।

प्रत्येक वर्ष २ पटक गरिँदै आएको निःशुल्क आँखा शिविर यस वर्ष पनि सञ्चालन गरिने उहाँको योजना छ । पदस्थापना कार्यक्रमा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलको विशिष्ट आतिथ्य रहेको थियो । चार्ट मेम्बर तथा पूर्वअध्यक्ष माधव अधिकारी, विजय अधिकारी र फस्ट लेडी अजिता ढकाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा इन्ट्रयाक क्लब अफ बाल जागृति अध्यक्ष विशेषमान श्रेष्ठ र र रोट्रयाक क्लब अफ हेटौंडाका अध्यक्ष सुमित्रा लामाको पनि २०२४/०२५ का लागि उपदस्थापना भएको छ ।