हेटौंडाः लायन्स क्लब अफ हेटौंडा ईन्टेलेक्चुअलले शनिबार एक समारोहका बीच लायन्स क्लब ईन्टरनेशनल ३२५ बी २ का नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर (डिजी) शम्भु नकर्मीको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेको छ । लायन्स क्लब अफ हेटौंडा ईन्टेलेक्चुअलका अध्यक्ष भानुभक्त थपलियाको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा डिजी नकर्मीले लायन्स क्लबहरुले अब सामाजिक कार्य पनि फरक किसिमले देखिने र सम्झनलायक गर्नुपर्ने बताउनुभयो ।
लायन्स क्लब अफ हेटौंडा ईन्टेलेक्चुअलले ल्याएको ‘व्यानर टु व्याग’ अवधारणाले आफु निकै नै प्रभावित भएको र आगामी दिनहरुमा पनि पृथक कार्यहरु गर्दै जानुपर्ने उहाँले सुझाउनुभयो । लायन्स क्लब अफ हेटौंडा ईन्टेलेक्चुअलका संस्थापक अध्यक्ष बीरकृष्ण महर्जनले वार्षिक कार्ययोजना पेश गर्ने क्रममा लायन्स क्लबमा आबद्ध लायनहरुलाई उत्प्रेरणा जगाउने, अल्पकालिन र दीर्घकालिन योजनाहरुको विषयमा सामूहिक छलफल गरिने, कोभिड–१९ को वर्तमान अवस्थामा मनोवैज्ञानिक र सामाजिक परामर्शका कार्यक्रमलगायत अन्य विविध क्रियाकलापहरु गरिने बताउनुभयो ।
स्वागत कार्यक्रममा डिष्ट्रिक्ट मेगा हेल्थ कोअर्डिनेटर विष्णुगोपाल महर्जन र क्याबिनेट सेक्रेटरी टासी डोल्मा तुम्बाहाम्फेले पनि लायन्स क्लब अफ हेटौंडा ईन्टेलेक्चुअलको नयाँ कार्यसमितिको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । क्लबका सचिव विवेक मानन्धरले संचालन गर्नुभएको स्वागत कार्यक्रममा क्लबका पूर्वअध्यक्ष गणेशकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेन्द्रनाथ पोखरेल, द्वितीय उपाध्यक्ष गंगा चौलागाईको उपस्थिति रहेको थियो ।