हेटौँडाः हेटौंडा काठमाडौं जोड्ने छिटो दुरिको ३ सडक अवरुद्ध भएका छन् । पहिरोका कारण हेटौंडा काठमाडौं जोड्ने मातातीर्थ,चखेल देउराली सडक, कान्ति लोकपथ र दक्षिणकालीसिस्नेरी अवरुद्ध भएको हो ।

शुक्रबार रातीदेखि परेको वर्षाका कारण शनिबार बिहान ७ बजेको समयमा मकवानपुरको इन्द्रसरोवर–५ महालक्ष्मी खोला नजिक पहिरो खस्दा मातातीर्थ–चखेल र देउराली जाने सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको हो । पहिरो हटाएर बाटो संचालनको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार उक्त स्थानमा प्रहरी चौकि फखेलबाट प्रहरी टोली खटिएको छ ।

त्यसै वर्षाका कारण शनिबार बिहान २ः१० बजेको समयमा कान्ति लोकपथ अन्तर्गतको प्रतापडाँडा र ललितपुर क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । कान्ती लोकपथ सडक खण्डमा वर्षाको कारण मकवानपुरको भिमफेदी–८ प्रतापडाँडा र ललितपुर क्षेत्रमा सडक माथिबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरोका कारण सो सडक पुर्ण रुपमा अवरोध भएको र इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी टोली खटाइएको र बाटो खुलाउनको लागि डिभिजन सडक कार्यालय मकवानपुरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै हेटौंडा काठमाडौं जोड्ने सिस्नेरी दक्षिणकाली सडक पहोरोका कारण अवरुद्ध भएको छ । गएराती देखि भएको वर्षाका कारण पहिरो जाँदा हेटौंडा-काठमाडौंको वैकल्पिक मार्ग सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको हो। वर्षाको कारण सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर २ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठुलो पहिरो गएकोले तत्काल पहिरो पन्छाएर बाटो खुलाउन सकिने सम्भावना नरहेको प्रहरीको भनाई छ।

बाटो सुचारु गर्न सडक डिभिजन कार्यालय मकवानपुर र इन्द्रसरोबर गाउँपालिकासँग समन्वय भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले सिस्नेरी हुदै काठमाडौँ जाने बाटो अवरुद्ध भएकाले अन्य बाटो प्रयोग गर्न भनेको छ।