हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले ७ वटा टिपर नियन्त्रणमा लिएर छाडेको छ । बिहिबार साँझ राजश्व छलेर ढुङ्गा र बालुवा ढुवानी गरेको भनी हेटौँडा उपमहानगरपालिकाले ७ वटा टिपर नियन्त्रणमा लिएको थियो । निकासी गर्ने क्रममा आवश्यक कागजात नभएको भनी बिहिबार साँझ हेटौँडाको रातोमाटे र चौकिटोलबाट टिपर नियन्त्रणमा लिइएको थियो ।
भीमफेदी गाउँपालिकाबाट निकासी भएको बालुवा र ढुङ्गा ढुवानी गर्ने टिपरमा चलानी र भ्याट बिल नभएकोले नियन्त्रणमा लिएको हेटौँडा उपमहानगरपालिकाका अधिकारीले जानकारी दिएको छ । भीमफेदी गाउँपालिकाको सगरमाथा रोडा उद्योगबाट ३ टिपर बालुवा र पवित्रा कंक्रिट उद्योगबाट ४ टिपर ढुङ्गा निकासी हुँदै गर्दा राजश्व छली समेत उपमहानगरले अनुमान गरेको थियो ।
हेटौँडा उपमहानगरपालिकाको राजश्व संकलन टोलीले टिपर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका टिपर मध्ये ४ वटा टिपर हेटौँडा उपमहानगरपालिकाको कार्यालय अगाडि नै राखिएको थियो भने ३ वटा टिपर रातोमाटेमा राखिएको थियो । टिपर नियन्त्रणमा लिइएपछि भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले राजश्व छली नभएको भनी जानकारी गराएपछि हेटौँडा उपमहानगरपालिकाले टिपर छाडेको हो ।